आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विद्यार्थीहरुले बाटुली पोखरीमा जलकुम्भी झार सफा गरी वातावरण दिवस मनाए

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकी (सि.ई.एस.एस) को आयोजनामा भरतपुर महानगर युवा संजाल, ग्रिन ल्याण्ड स्कुल र वेटर चितवनको सहकार्यमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा बाटुली पोखरीको केहि क्षेत्रमा फैलिएको जलिय मिचाहा प्रजातीको झार जलकुम्भी सफा गरेका छन।


क्लबका बर्ष-२०२४ का अध्यक्ष हार्दिका राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १३ का वडा सदस्य चहे बहादुर तामाङ, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष शदानन्द ढकाल, बाटुलीपोखरी टोल विकास संस्थाका प्रतिनिधी कल्पना सुनार, सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराई, कर्मचारी संघका अध्यक्ष कृष्ण भुसाल, वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुब आचार्य, सुरज न्यौपाने, भरतपुर महानगर युवा संजालका अध्यक्ष अन्जान दवाडी, बेटर चितवनका संयोजक सागर कार्की, ग्रिन ल्याण्ड सेकेन्डरी स्कुल भरतपुरका फाउन्डर प्रिन्सिपल ईन्दिरा कार्की, सहायक प्राध्यानाध्यापक उपेन्द्र आचार्य, ईको क्लब संयोजक मनोज खड्का लगाएत बि.एस्सी वातावरणीय विज्ञान विषयका विद्यार्थीहरु, ग्रिनल्याण स्कुलका विद्यार्थी गरी करिव ८५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथी वडा १३ का वडा सदस्य चहे बहादुर तामाङले जलकुम्भी झार फुलेको देखेर केहि वर्ष यता बाटुलीपोखरी वरपर आन्तरिक पर्यटकहरुको घुईचो बढेको भएपनि यो झारको ब्यापक फैलावटका कारण यस क्षेत्रका जलीय जिव माछा, कचुवा, घोँगी, गोही लगाएतको बासस्थान बिग्रदै गएको तथा तिनका संख्या र प्रजाति घट्दै गएको बताउँदै यसको ब्यवस्थापनका लागि स्थानीय समुदाय, राष्ट्रिय निकुन्ज, मध्यवर्ती सामुदायिक वन, वडा कार्यालय तथा महानगरपालिका बाट उचित कदम चालिनुपर्ने बताउनुभयो।


सन १९७२ को जुन ५-१६ सम्म संयुक्त राष्ट्रसंघको महासभा “स्टकहोम कन्फरेन्स” को निर्णय अनुसार विश्व स्तरको विद्यमान वातावरणीय खराबी, समस्याहरू र चुनौतीहरूको सम्बोधन प्राकृतिक हिसाबले स्वास्थ्यकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरू र कार्यक्रमहरू गर्ने अभिप्रायले पहिलोपल्ट सन १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो । यस बर्ष विश्व वातावरण दिवस-२०२४ को मुख्य स्लोगान हाम्रो भूमीः हाम्रो भविष्य अर्थात भूमी पुनस्थापनाःमरुभूमिकरण र खडेरी लचिलोपना” रहेको छ ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका वातावरण विषयका सहायक प्राध्यापक ध्रुब आचार्यले विश्व समुदायमा वातावरण प्रदुषण एक चुनौतीको रुपमा रहेको, नेपाल पनि अछुतो नरहेको धारणा राख्दै संयुक्त राष्ट्रसंघ यु.एन.सि.सि.डी.का अनुसार विश्वको ४० प्रतिशत जमिन क्षयिकरण भएको तथा सन २००० देखि यता जमिनको क्षयिकरण २९ प्रतिशतले बढेकोले विश्वको आधा जनसंख्या यसको मारमा परेको, तथा यहि अवस्थाको निरन्तरता रहेमा सन २०५० सम्ममा विश्वको ७५ प्रतिशत जनसंख्या प्रभावित हुने अनुमान रहेको बताएका छन । यसै गरी संयुक्त राष्ट्र संघले सन २०२१ देखि २०३० को दशकलाई यु.एन. डिकेड अन ईकोसिस्टम रिस्टोरेसन “पारिस्थीतिकीय प्रणालिको पुनस्थापना दशक” घोषणा गरेको जानकारी गराउनुभयो। यसर्थ जलीय पारिस्थितिकीय प्रणाली जोगाउन मिचाहा प्रजातिका जलकुम्भी लगायतका झारको उचित ब्यवस्थापन गर्न आवस्यक रहेकोले यो कार्यक्रम अति नै सान्दर्भिक रहेको बिचार ब्यक्त गर्नुभयो ।


वातावरण विज्ञान विषयका सहायक प्राध्यापक सुरज न्यौपाने तथा वेटर चितवनका संस्थापक सागर कार्कि लगाएतले आफ्नो धारणा राख्ने क्रममा भने “पछिल्लो केहि वर्षदेखि चितवन राष्ट्रिय निकुन्ज वरिपरीका तालहरु बाटुली पोखरी, बिसहजारी ताल लगाएतका सिमसारहरुमा जलकुम्भी झारको फैलावट बढ्दो रहेको पाईएको छ । यसले सिमसार क्षेत्रहरुमा पानीको मात्रा घटाउँदछ, जसका कारण रैथाने जलिय जिवजन्तुको बासस्थान संकटमा परेको छ । यसको फैलावटले पानीमा घुलित अक्सिजनको मात्रा घटाउँदछ, पानीको भौतिक तथा रासायनिक गुणमा परिवर्तन ल्याउँदछ । पानीका स्रोतलाई छिट्टै सुकाईदिने, हुनाले यसले पारिस्थीतिकीय पद्धतिमा नकारात्मक प्रभाव ल्याउँदछ । “

जलकुम्भी झारको नकारात्मक प्रभाव र यसको समाघानका लागि जनचेतना जगाउने उद्येश्यले कार्यक्रम आयोजना गरेकोमा बिद्यार्थीहरुको क्लबलाई धन्यबाद दिदै सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराईले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा ग्रिनल्याण्ड सेकेन्डरी स्कुलका फाउन्डर प्रिन्सिपल ईन्दिरा कार्कीले यो कार्यक्रमले बिद्यार्थीहरुलाई सिमसारको मतहत्व बुझाउन र यसको संरक्षण गर्न अभिप्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रम क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकीका सचिव प्रतिक कंडेलले सन्चालन गरेका थिए ।

Write your Comment