आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

छैटौं देवचुली वडास्तरीय भेट्रान्स फुटबलको उपाधि देवचुली १६ लाई

    प्रकाशित २०८१ बैशाख २६, बुधबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित छैटौं देवचुली वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ ले जितेको छ । बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ११ को आयोजना तथा पृथ्वी समाज सेवा क्लबको सह-आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत बुधबार भएको फाइनल खेलमा देवचुली १६ ले देवचुली १० लाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

खेलमा देवचुली १६ ले देवचुली १० लाई ट्राइबेकरमा ४- ३ गोल अन्तरले हराउँदै जित निकालेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २-२ गोल हुँदै खेल ट्राइबेकरमा गएको थियो । फाइनल खेलमा देवचुली १६ का गोलरक्षक कृष्ण न्यौपाने म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिकाका ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु सहभागी भएको प्रतियोगितामा प्रथम हुने देवचुली १६ ले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता हुने देवचुली १० ले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै गरि प्रतियोगिताका सर्वाधिक गोलकर्ता देवचुली १० का टंकबहादुर राना, सर्वोकृष्ट गोलरक्षक देवचुली ११ का दुर्गा राना , उत्कृष्ट खेलाडी देवचुली १६ का विमल क्षेत्री भएका थिए।

पृथ्वी समाज सेवा क्लबका अध्यक्ष बुद्धि लुंगेलीको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि समापन समारोहमा देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका बिजेता,उपबिजेताहरुलाई उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले पुरस्कार वितरण गर्नुभएको थियो ।

Write your Comment