आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा प्राङ्गारिक तथा जैविक मल बनाउने तालिमले किसानलाई उत्साह

    प्रकाशित २०८१ जेष्ठ १८, शुक्रबार (१ महिना अघि)


कावासोती। नवलपुरका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्ने विधिहरुका बारेमा एक दिवसीय तालिम दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कावासोतीले जिल्लाका ४८ जना व्यवसायिक किसानहरुलाई उक्त तालिम दिएको ईकाइ प्रमुख सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

तालिममा नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद दवाडीले प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्नेबिधिहरु, झोलमल बनाउने तयारी १,२ र ३ का साथै प्रभावकारी शुष्म जिवाणुको प्रयोग गरी घरयासी तरिकाबाट बोकासी बनाउने तरिका, वेष्ट डिकम्पोजरको उपयोग, जलवायु स्मार्ट कृषि प्रविधि , पानी स्माट व्यवस्थापन, विक्रेटको उपयोगिताका लगाएतका विषय जानकारी गराउनु भएको थियो ।

परियोजनाले किसानलाई दक्ष, व्यवसायिक र उत्पादनमा लाग्न प्रेरित गरेको छ । कागती र सुन्तला खेतीकामा संलग्न किसान र व्यवसायिक तरकारी खेती गरेका अगुवा किसानहरुलाई तालिम पछि जैविक मल बनाउन प्रयोग हुने भेली, पिना, स्प्रे, लगाएतका सामाग्रीहरु प्रदान गरिएको थियो । तालिमले जिङ्ग र युरियासंगै प्रयोग गर्न नहुने कुराको ज्ञान प्राप्त भएको गैंडाकोटका सुन्तला जातका व्यवसायी किसान गुप्ता रेग्मीले बताउनुभयो ।

प्राङ्गारिक तथा जैविक मल बनाउने कार्य माटो बचाउने अभियान हो भन्ने कुरा स्पष्ट भएको छ मध्यविन्दु–१ की देवी घिमिरेले भन्नुभयो–‘माटो स्वस्थ्थ राख्न विधि पुर्‍याएर किसानी गर्नुपर्छ भन्ने हेक्का भयो ’। तालिमले किसानहरुमा उत्साह भर्ने काम गरेको शंखदेवका किसान मित्रलाल तिवारीले बताउनुभयो ।

Write your Comment