आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देशकै उत्कृष्ट अमलटारी घरबास रहेको बाघखोर अब घरबास गाउँ

    प्रकाशित २०८१ जेष्ठ ६, आईतबार (२ महिना अघि)


दयाराम आचार्य, नवलपुर । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ (होम स्टे भिलेज) घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालित बाघखोर गाउँलाई नै घरबास गाउँको रुपमा घोषणा गरिएको हो ।

अमलटारी घरबास सञ्चालन भएको दश वर्ष पुरा भएको अवसरमा नयाँ अवधारणा सहित गाउँलाई नै घरबास गाउँको रुपमा घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले बताउनुभयो । घरबासको नीति ,मापदण्ड ,अवधारण ,कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँरहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासको रुपमा परिणत गरि सिंगो गाउँलाई नै घरबास गाउँ घोषणा गरिएको अध्यक्ष थारूले बताउनुभयो । शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गर्नुभएको हो । देशकै उत्कृष्ट घरबासको रुपमा परिचित अमलटारी घरबास क्षेत्रमा छुट्टा छुट्टै रुपमा घरबास सहित , होटल, रेष्टुरेन्ट सञ्चालन गर्दै जाँदा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो गरिएको अध्यक्ष थारुले बताउनुभयो ।

अमलटारी घरबास अन्तरगतका ४३ वटा आवासहरु र होटलमा सञ्चालित ६४ वटा कोठाहरु लाई एकीकृत गरिएको छ । सबैलाई अब घरबासको मापदण्डमा लैजाने घरबासका अध्यक्ष थारूले बताउनुभयो । यसले एकरूपता दिने र घरबासको पाहुना राख्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौ, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने नै हो, यो योजनाले घरबासको मौलिकता जोगाउँदै थप सबल रुपमा अघि बढ्न सहयोग पुग्ने समेत विश्वास छ’ अध्यक्ष थारूले भन्नुभयो ।

अमलटारी घरबास गाउँ सहित दशवर्षे रणनैतिक योजना समेत तय गरिएको छ । जस अनुसार एक घर ,एक रोजगार, गाउँमा सत प्रतिशत साक्षरता, वातावरण मैत्री व्यवसाय, सबै घरमा किचन गार्डेन, सहित थारू ,बोटे लगायतका यहाँका समुदायका संस्कृति, रहन सहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना रहेको अध्यक्ष थारूले बताउनुभयो । वन र वन्यजन्तुको संरक्षण सहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ थप अभियानहरू सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्य क्षेत्रका रुपमा विकास गर्ने हाम्रो अभियान छ’ अध्यक्ष थारूले भन्नुभयो ।

अमलटारी घरबासले थारु ,बोटे समुदायको जिवन स्तर सुधारका साथै महिलाहरुको क्षमता विकासमा धेरै सहयोग पुगेको गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले बताउनुभयो । घरबास गाउँ घोषणा कार्यक्रममा बोल्दै घरबासबाट जिविकोपार्जन सहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबास रहेको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले हिजोको विकट मानिएको यस क्षेत्र घरबास संचालनपछि धेरै परिवर्तन भएको बताउनुभयो । वन्यजन्तुको संरक्षण सहित उक्त विषयलाई पर्यटनसँग जोडेर अमलटारीले आफूलाई देश विदेशमा चिनाएको साथै गाउँको आर्थिक विकासमा समेत अघि बढेको नगर प्रमुख भुसालले बताउनुभयो । पर्यटन क्षेत्रको विकाससँगै थारु संस्कृति संरक्षणमा नगरपालिकाले आवश्यकता र माग अनुसार कार्य गर्दै जाने उहाँले बताउनुभयो । संविधान सभा सदस्य एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले पर्यापर्यटनको प्रर्वद्धन गर्दै वन्यजन्तु र मानव विचको द्धन्द न्यूनिकरणको अभियानसँगै जोडिएर संचालित घरबासले यहाँको विकासमा सहयोग पुगेको बताउनुभयो । घरबास संचालन पूर्व यहाँका बासिन्दाहरु माछा मारेरै जिविकोपार्जन गर्नुपर्ने, सामान्य खेतिपाती गरि जिवन धान्दै आएकोमा अहिले धेरै विकास भएको बताउनुभयो ।

अमलटारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार घिमिरेले वन र वन्यजन्तुको संरक्षण सहित पर्यटनलाई जोड्दै अघि बढ्दा गाउँको आर्थिक विकासमा सहयोग पुगेको बताउनुभयो । वन्यजन्तु संरक्षणको क्षेत्रमा कामगर्ने निकायको साथ सहयोग सहितका कार्यहरुले अहिले यो अवस्थामा आइपुगेको उहाँले बताउनुभयो । गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नर बहादुर महतोले घरबास गाउँ घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै अमलटारी घरबास थप व्यवस्थित र नयाँ योजनाका साथ अघि बढेको बताउनुभयो । यसले यहाँ आउने पाहुनाहरुलाई सुविधा थप्ने समेत उहाँले बताउनुभयो ।


अमलटारी घरबासका सचिव छन्नुराम महतोले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति सहित स्थानीयहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । शनिबारनै हमार दिगो गाउँ पर्यटन सहकारी संस्थाको नवनिर्मित भवन समेत उद्धघाटन गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोर क्षेत्रमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ । यहाँ रहेका मध्यवर्ती सामुदायिक वनमा मुख्यगरि गैंडा अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् । यहाँ सञ्चालित घरबासमा थारू ,बोटे समुदायका संस्कृति, रीति रिवाज ,रहन सहन बुझ्न , अवलोकन गर्न समेत पर्यटकहरू आउने गर्दछन् ।

Write your Comment