आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

चौधरी ग्रुपको सिजी धाम र उद्योग अगाडि राजमार्ग खुम्च्याइयो, डिपिआरमै लापरबाही

    प्रकाशित २०८१ जेष्ठ ३, बिहिबार (२ महिना अघि)


नवलपुर । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

तर आधा काम सकिइसक्दा आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्ने बेलामा गम्भीर लापरबाही भएको पाइएको छ । नवलपुरको देवचुली नगरपालिका–२, दलदलेमा रहेको चौधरी ग्रुपको सिजी धाम, चौधरी उद्योग र गैँडाकोट–१२, हर्कपुरमा रहेको चौधरी फाउन्डेसन तथा सिजी उन्नति कल्चरल भिल्ला र फन पार्क अगाडिको राजमार्गको झन्डै सात सय मिटर क्षेत्रफलमा मापदण्डविपरीत चार लेनको मात्र सडक बनाइएको छ ।

सहरी क्षेत्र रहेको यो ठाउँमा हिँड्ने बाटोबाहेक छ लेनको सडक हुनुपर्ने थियो । चौधरी उद्योगले समेटेको यो क्षेत्रमा कसरी सडक खुम्चियो भन्नेमा स्थानीय नै आश्चर्यमा छन् । “त्यही राजमार्ग अन्तर्गत सहर क्षेत्रका अन्य ठाउँमा छ लेनको सडक हुँदा यहाँ कसरी खुम्चियो, हामी आश्चर्यमा परेका छौँ,” स्थानीय रामबहादुर क्षेत्रीले भने ।

गैँडाकोट–१२ का पूर्ववडाध्यक्ष थिरबहादुर बस्नेतले वारिपारि छ लेन र उद्योग अगाडिको झन्डै सात सय मिटर बाटोलाई चार लेनमा झार्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै रहेको बताउँदै भने, “यस विषयमा ध्यानाकर्षण गराउन दुई पटकसम्म सडक बोर्डमा डेलिगेसन गएका थियौँ । उहाँहरूले माथिबाट जस्तो नक्सा आयो, हामीले त्यस्तै बनाएको हो । नक्सा परिवर्तन गर्न सकिन्न, त्यसका लागि केन्द्र सरकारलाई नै भन्नु पर्छ भन्नुभयो ।” यस विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिसमेत बनाएर दबाब दिए पनि समाधान नभएको उनको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पनि यो अचम्मको विषय भएको बताए । “बाटो विस्तार गर्दा थुप्रै सर्वसाधारणको जग्गा गएको छ तर उद्योग क्षेत्रको चाहिँ जग्गा छुनै नपाइने हो र ?” नगर प्रमुख अधिकारीले प्रश्न गरे। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Write your Comment