आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

चितवनमा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला गोष्ठी

    प्रकाशित २०८१ बैशाख २९, शनिबार (२ महिना अघि)


चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणको रणनीति सम्बन्धी कार्यशाला सन्चालन गरेको छ । क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शुक्रबार सो कार्यशाला गरिएको हो । क्याम्पसको विज्ञान विभागका बिभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यशाला गोष्ठीको प्रमुख उद्देश्य विद्यार्थी सरोकारवाला तथा बिषय विज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायले भोग्दै आएको जलवायु परिवर्तन, यसको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवश्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कर्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बिषय बिषय बिज्ञका रुपमा एरिजोना स्टेट युनिभर्सिटी (एसयु), स्कुल फर द फ्युचर अफ इनोभेसनका प्राध्यापक डा. नेत्र बहादुर क्षेत्रीले जलवायु परिवर्तनको विज्ञान, हरितगृह ग्याँस उत्सर्जनको विश्वव्यापी अवस्था तथा भविष्यको प्रक्षेपण, प्रभाव न्यूनिकरणका लागि व्यक्ति र समुदायका तर्फबाट गर्न सकिने प्रयासहरु प्रस्ट पार्नुका साथै स्थानीय तथा केन्द्रीय सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

सन १८५० को दशक देखि विश्वमा तिव्र औधोगिकरण सुरुवात भएपछि खनिज ईन्धनको व्यापक प्रयोग बढेसंँगै वायुमण्डलमा हरितगृह ग्याँस कार्बनडाईअक्साईडको मात्रा २७० पि.पि.एम कार्बनडाईअक्साइड ईक्युभेलेन्टबाट बढेर सन २०२१ सम्ममा ४७२ पि.पि.एम कार्बनडाईअक्साइड ईक्युभेलेन्ट पुगेको जानकारी गराउँदै यहि दरमा हरितगृह ग्याँस उत्सर्जनको अवस्था कायम रहेमा पूर्व-औधोगिकिकरणको तुलनामा पृथ्वीको सतहको औषत तापक्रम १.५ डिग्री सेल्सियस कायम गर्न चुनौतीहरु रहेकोले यसबाट पर्न सक्ने नकारात्मक प्रभाव अनुमान गर्न नसकिने अवस्था रहेको जानकारी गराउनुभयो ।

जलवायु परिवर्तनको बहुआयामिक आयामहरू अन्वेषण गर्दै, कार्यशालाले पृथ्वीको जलवायु प्रणाली र यसको सामाजिक प्रभावहरूको जटिलताहरूमा गहिरो रूपमा अध्ययन गर्यो। जलवायु र मौसम बीचको आधारभूत भिन्नताको साथ सुरु गर्दै, सहभागीहरूले हरितगृह प्रभावको विज्ञानको बारेमा जानकारी प्राप्त गरे । साथै मानव गतिविधिहरूमा बढ्दो हरितगृह ग्यास सांद्रतालाई जोड्ने आकर्षक प्रमाणहरू उजागर गर्दै हरित गृह ग्याँसको उत्सर्जनमा सूक्ष्म क्षेत्रीय भिन्नताहरूका बारेमा जानकारी गराईयो ।
कार्यशालाले हाम्रो ग्रहको जलवायु नियमनमा यसको महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै कार्बन चक्रको विस्तृत बुझाइ प्रदान गर्‍यो। सहभागीहरूले जलवायु अनुसन्धानमा आधारित वैज्ञानिक विधिहरूमा जानकारी प्राप्त गरे, विशेष गरी नेपाल जस्ता जोखिममा रहेका क्षेत्रहरूमा अनुकूलन र न्यूनीकरण प्रयासहरूको तत्काल आवश्यकतालाई जोड दिएको छ ।

जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि रणनीतिको रुपमा वनजंगलको संरक्षण मार्फत कार्बन ट्रयापिङ बढाउने, वैकल्पिक उर्जाका स्रोतमार्फत खनिज ईन्धनको प्रतिस्थापन गर्ने, हरित गृह ग्याँसको उत्सर्जनलाई कम गर्ने, विकास र वातावरणको सन्तुलनका लागि दिगो विकासको अवलम्वन गर्ने आदि गर्न सकिने जानकारी गराउनुभयो ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसकको वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुव आचार्यले नेपालमा जलवायु परिवर्तनले जिविकोपार्जनका क्षेत्र जस्तै कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, पानीका स्रोत र उर्जा उत्पादन, मानव स्वास्थ्य, जलवायु उत्पन्न प्रकोप, स्थानीय पूर्वाधार लगायतमा प्रभाव पारेको बताउनुभयो । विगत केहि दशकदेखि पानी पर्ने दर र प्रकृयामा फेरबदल आएको, पृथ्वीको सतहको औसत तापक्रम बढेको, हिमालमा हिउँ रित्तिदै गएको, नयाँ नयाँ रोग किराहरुको प्रकोप बढेको, बिपद जन्य घटनाहरु र त्यसबाट हुने क्षति बढेको, जैविक विविधताको लोप हुँदै गएको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।

क्याम्पस सन्चालक समितिका वरिष्ठ उपाध्यक्ष रमाकान्त सापकोटाले वर्तमान समयमा विश्वमा देखा परेका वातावरणीय समस्याका घटनाक्रमहरु सम्झदै कार्यक्रमले अन्तराष्ट्रिय स्तरको विषयविज्ञ पाएको र उहाँको ज्ञानको भरपुर उपयोग गर्दै, विद्यार्थीहरुले नयाँ कुरा सिक्न सुन्ने, बोल्ने र प्रश्न गर्न सक्नु पर्ने धारणा व्यक्त गर्दै सिकाईलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा क्याम्पस सन्चालक समितिका कोषाध्यक्ष मधुर नेपालले जलवा।यु परिवर्तनको विश्वब्यापी प्रभावलाई कम गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले जलवायु अनुकुलनका क्षेत्रमा बिद्यार्थीहरुको व्यवहारिक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि हुने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभागले आयोजना गरेको कार्यक्रमले विद्यार्थी विद्यार्थीको ज्ञानमा अभिवृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले विश्व समुदायले भोगेको वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनसँग जुध्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मक कार्यक्रममा क्याम्पसको सधैँ साथ र सहयोग हुने बताउनुभयो साथै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको बताउनुभयो ।

कार्यक्रमले सहभागीहरूलाई विश्वव्यापी चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनको समाधानहरूबारे वैज्ञानिक ज्ञान हाँसिल गरि समुदायमा सकारात्मक परिवर्तनलाई प्रभाव पार्ने उपकरण र प्रेरणा प्रदान गर्यो । अन्त्यमा विज्ञान विभागका विभागीय प्रमुख रविराज सुबेदीले विषयविज्ञ तथा सहभागीहरुलाई धन्यवाद दिदै, उक्त कार्यक्रममा सिकेका ज्ञान तथा सिपहरुलाई ब्यक्तिगत जीवनमा समेत उतार्न सहभागीहरुलाई आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

क्याम्पस सन्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख, कार्यक्रम प्रमुख, पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकीका सभापति, विभिन्न विभागका विभागीय प्रमुख, लेखा नियन्त्रक, कर्मचारी संघका अध्यक्ष, बालकुमारी क्याम्पस वातावरण विज्ञान विषयका सहायक प्राध्यापक, प्रगतिपथ बिकास संस्थाका अध्यक्ष, सप्तगण्डकी टोल विकास संस्थाका उपाध्यक्ष, सप्तगण्डकी बहुमुखी क्याम्पस बि.एस्सी कार्यक्रममा अध्यनरत विद्यार्थीहरु सहित करिब ५५ जनाको सहभागिता रहेको कार्यक्रम वनस्पति शास्त्रका सहायक प्राध्यापक गिरिराज उपाध्यायले सन्चालन गर्नुभएको थियो ।

Write your Comment