आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

प्राकृतिक मनोरमसँगै धार्मिक स्थल बन्दै देवचुली डाँडा, माईको पूजामा श्रद्धालु भक्तजनको घुइँचो

    प्रकाशित २०८१ बैशाख ११, मंगलबार (१ हफ्ता अघि)


नवलपुर । नवलपुरको अग्लो डाँडा देवचुलीमा रहेको माईको पूजामा मंगलबार श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । चैते पूर्णिमाको दिन यहाँ तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदायले यस दिन शिरथान कुंवारवर्ती माईको रुपमा पूजा गर्न देवचुली डाँडा पुग्ने गर्दछन् ।

थारु समुदायका मानिसहरु देवचुली– ६ स्थित किर्तिपुर पहिलो दिन बास बस्ने र माईको आराधना गरी दोश्रो दिन इन्द्रसोत पुगेर बास बसी तेस्रो दिन अर्थात पूर्णीमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णीमाको दिन अन्य समुदायले आफ्नो मनोकांक्षा पुरा होस् भन्दै पूजा गर्ने चलन रहेको छ ।


पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवकहरु परिचालन गरेको समितिका अध्यक्षका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । भीडलाई व्यवस्थापन गर्न श्रृजना सामुदायिक वन समुह किर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक उपलब्ध गराएको उहाँले बताउनुभयो । पूजामा सहभागी भक्तजनहरुले भेडा, बाख्राका पाठा,पाठी, परेवा माईलाई चढाउने गरेको मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो ।

यस बर्ष भेला भर्न नवलपुरका रजहर, कावासोती, डण्डा, पतवारी, कोल्हुवा, भैंसाखोरी पिठौली, बर्दघाट, लगाएतका क्षेत्रबाट एक हजार ५५ जना भक्तजनहरु देवचुली पुगेका हुन् । १८ सय मिटर अग्लो ठाउँमा रहेको गुफा भित्र माईको पुजा गर्ने चलन छ ।परापूर्वकाल देखि चलि आएको तीन कन्यामाई पुजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको देवचुली नगरपालिका वडा नं. ६ का अध्यक्ष एवम् देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताउनुभयो । देवचुलीमाई , शिरथान कुंवारवर्ती माईको नामले समेत प्रसिद्ध रहेको तीन कन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ । माइको पुजाआजा गर्नाले यस जीवन र परलोकमा समेत सुख मिल्ने धार्मिक मान्यता रहेको छ । यस दिन थारु समुदायहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।


१९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ । चुलीको १८०० मिटर उचाइमा गुफा रहेको छ । द्धापर युगमा पाँच पाण्डव द्रौपदी सहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाले महत्व बोकेको छ । गुफा भित्र मानिस र जनावरका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा विशेष आकर्षणका केन्द्रविन्दु बनेको छ ।

पूर्वपश्चिम राजमार्गको दलदले देखी मुन्डे हुदै देवचुली नगरपालिकाको किर्तिपुरबाट पाँच किलोमिटिरको दुरी उत्तरतर्फ देवचुली डाँडा पर्छ । किर्तिपुरबाट पैदल हिडेर करिब तीन घण्टामा देवचुली डाँडा पुग्न सकिन्छ । सवारी साधनमा जाने र पहाड पनि घुम्न रुचाउनेहरु बुलिङटार वडा नं. ४ को बोझापोखरी हुँदै पूर्व तर्फबाट र्तेस्रो बाटो हुदै चुली जान सक्छन् । किर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरु चुलीको फेदीमा भेट हुन्छन् । पैदलयात्रुलाई सहजहोस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिढी तथा रेलिङको ब्यवस्था गरेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले जानकारी दिनुभयो ।

बुलिङटारबाट दक्षिण सुनारथुम्की हुदै घोरलडाँडा गाउँबाट देवचुली डाँडा पुग्न सकिन्छ । पूर्वतर्फबाट झेरी खण्डे दरबार हुँदै वरचुली डाँडाबाट यहाँसम्म आउन सकिन्छ । देवचुली डाँडा नवलपुरको गहनाको रुपमा रहेको छ । उत्ततर्फ मनमोहक दृश्य र दक्षिण तर्फको समथर फाँटहरुले पर्यटकलाई आकर्षण गर्दछ । चैत बैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउनेहरुलाई पुल्कित बनाउने गरेको छ । पुजा गर्न आउनेहरु युवायुवतीहरु चुली चढ्ने , लालीगुराँस टिप्ने काममा रुची देखाएका थिए । देवचुली डाँडा प्राकृतिक , साँस्कृतिक र ऐतिहासिक धार्मिक स्थलको संगममा रहेको छ ।


देवचुलीमा जानेहरु शुद्ध भएर जानुपर्ने धार्मिक बिश्वास रहेको छ । गुफामा नै तीनकन्याको बसोबास हुने हुँदा फेदीबाट सुँगुर मासु लिएर जान नहुने परम्परा तथा मान्यताहरु रही आएको छ । तीन कन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण पनि यहाँ आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयहरु बताउछन् । दलदले– बोझापोखरी–कोखेटार सडक, मुन्डे किर्तिपुर सडकको निर्माणले पर्यटकहरुलाई यहाँ आउन सहज भएको छ । पैदल यात्रा गर्नेहरुले भने दुई तिन घण्टाका लागि पिउने पानी र केही खानेकुराहरु भने आफै लैजानुपर्ने छ । धार्मिक आस्था हुनेहरु गुफा सम्म पुग्ने र पुजा गरेर फर्कने गर्दछन् । प्रकृतिमा रमाउने जोडीहरु चुलीसम्म पुग्ने गर्दछन् । हाइकिङमा रमाउनेहरुको रोजाईमा देवचुली डाँडा रहेको छ ।

Write your Comment