आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

नवलपुरका सापकोटा बने उद्योग व्यवसायी महासंघको संयोजक

    प्रकाशित २०८१ बैशाख ८, शनिबार (१ हफ्ता अघि)


कृष्ण कंडेल, देवचुली । नेपाल उद्योग तथा व्यवसायी(केन्द्रिय) महासंघको संयोजकमा गण्डकी प्रदेशको नवलपुरका भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको महासंघले सापकोटाको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटि घोषणा गरेको हो ।

महासङ्घको महासचिव रहेका उनी नवलपुरको गैंडाकोट नगरपालिका-१६ अमरापुरी निवासी हुन् । उनका सहोदर दाइ तेजेन्द्र सापकोटा नेकपा एमाले नवलपुरको जिल्ला कमिटी सदस्य छन । एमाले निकट उद्योगी व्यवसायीहरुको संगठनको केन्द्रिय संयोजकको जिम्मेवारी पाएका उनी पार्टी संगठन विस्तारमा काविल मानिन्छन । सापकोटा उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् ।

आगामी मंसिर भित्र महासङ्घको महाधिवेशन गर्ने गरि आफुलाई संयोजन गर्ने जिम्मेवारी प्राप्त भएको सापकोटाले बताए । महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष रहेका थिए । कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि लेखा आयोग संयोजक रहेका थिए ।

संयोजक सापकोटाले देशको बिग्रदो अर्थतन्त्र सुधार गर्दै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेको विषम परिस्थितमा व्यवसायीको हितका लागि पार्टीदेखि सरकारसँग लविङ गर्ने जिम्मेवारी आएको उनले बताए । ‘मैले महासंघमा रहेर संगठन बिस्तारदेखि उद्योगी व्यवसायीका समस्या समाधानको काम गर्दै आएको छु,’ उनले भने, ‘अब यो आयोजक कमिटिले तोकिएको समयभित्र महासंघको अधिवेशन गर्नेछ ।’

सापकोटाको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय गठन भएको छ भने महासंघको पाँचौं केन्द्रिय कमिटि बैठकमा उपस्थित केन्द्रिय सदस्यहरुलाई आयोजक समितिमा राखिएको छ । साथै लगातार ३ पटक केन्द्रिय कमिटि बैठकमा नआउने केन्द्रिय सदस्यहरुलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ ।

महासंघको केन्द्रिय कार्यसमिति बैठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालिन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो ।

कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए । नेता ढकालले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्ने बताए ।

Write your Comment