आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १६ लाई

    प्रकाशित २०८० चैत्र ३०, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १६ ले जितेको छ। देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि सुरु गरिएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा देवचुली १६ ले देवचुली १२ लाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलमा देवचुली १६ ले देवचुली १२ लाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको देवचुली १२ ले अजय विशाल पौडेलको ७८ रन र विजय भट्टराईको २७ रनको मद्दतले १७.१ ओभरमा १० विकेटको क्षतिमा १५४ रन बनाएको थियो । बलिङतर्फ देवचुली १६ का कुनाल बस्नेतले ४ विकेट र विजय सिग्देलले ३ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली १६ ले १९.४ ओभरमा ३ विकेटको क्षतिमा १५६ रन बनाई ७ विकेटको जित दर्ता गरेको हो । देवचुली १६ का कुनाल बस्नेतले ५७ रन र रितकुमार लुइँटेलले ५० रन बनाएका थिए । बलिङतर्फ देवचुली १२ का विशाल पौडेलले २ विकेट र शिशिर भुसालले १ विकेट लिएका थिए। फाइनल खेलमा देवचुली १६ का कुनाल बस्नेत प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम भएको देवचुली १६ ले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने द्वितीय हुने देवचुली १२ ले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।त्यसै गरि सेमिफाइनलमा पुग्ने देवचुली १ र देवचुली १४ ले ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा देवचुली १६ का कुनाल बस्नेत प्लेयर अफ दि सिरिज, देवचुली १६ का रितकुमार लुइँटेल उत्कृष्ट ब्याट्सम्यान, देवचुली १६ का सुदीप अर्याल उत्कृष्ट बलर, देवचुली १२ का विशाल पौडेल उत्कृष्ट फिल्डर र देवचुली १४ का सुजन अर्याल इमर्जिङ्ग प्लेयर भएका खेल संयोजक चिरञ्जीवी पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। नगर युवा तथा खेलकुद विकास समितिको अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता भएको समापन कार्यक्रममा सहजीकरण नगर सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो।

Write your Comment