आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

देवचुलीमा आजदेखि अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस

    प्रकाशित २०८० चैत्र २५, आईतबार (३ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिकामा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस दिन सुरु गरिएको छ । नगरपालिकाले आइतबारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो ।

केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली ९ का निशान थापाको अनलाइन सिफारिस गरेर सुरुआत गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले नागरिकता प्राप्त गर्ने क्रममा जन्मदर्ता शैक्षिक प्रमाणपत्र लगायतमा भएका विवरण फरक फरक हुँदा समस्या भइरहेको र अनलाइन मार्फत सिफारिस दिदा गलत नहुनेमा आफू विश्वस्त भएको बताउनुभयो । अनलाइनमा राख्नुपर्ने विवरणहरु ख्याल गर्दै सेवाग्राहीलाई समस्या नहुने गरि जिम्मेवार भएर काम गर्न वडा सचिवहरुलाई उहाँले निर्देशन दिनुभयो ।

नागरिकताका लागि वडाबाट दिइएको सिफारिस सच्याएर, झुठ विवरण दिएर नागरिकता बनाउने कार्यको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीले अन्त्य गर्ने जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणाली लागु गर्ने मुलुकको तेस्रो स्थानीय तह भएको बताउनुभयो । नवलपुरको गैंडाकोट, मध्यबिन्दु पछि देवचुलीमा आजबाट अनलाइन नागरिकता सिफारिस प्रणाली सुरु गरिएको बताउनुभयो । ` अनलाइन प्रणालीबाट नागरिकता सिफारिस हुँदा किर्ते र झुट्टा विवरण बनाएर नागरिकता बनाउने काममा नियन्त्रण आउँछ´ उहाँले भन्नुभयो। राज्यले प्रदान गर्ने सेवालाई प्रविधिमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानका लागि वडा कार्यालयको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा देवचुली नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखका प्रमुख, वडा सचिव लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment