आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा अभिभावक शिक्षा कार्यक्रम : मेरा सन्तानका लागि एक दिन सँगै ‘आरम्भ यात्रा

    प्रकाशित २०८० चैत्र १०, शनिबार (१ महिना अघि)


नवलपुर । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीले अभिभावक शिक्षा कार्यक्रम ‘मेरा सन्तानका लागि एक दिन सँगै आरम्भ यात्रा’ शनिबार सम्पन्न गरेको छ । ‘सीप, संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा’ प्रदान गर्ने उद्देश्य अनुरूप कावासोतीमा सञ्चालित आरम्भ एकेडेमीले  अभिभावक शिक्षा कार्यक्रम गरेको हो ।

विभिन्न चरणमा सञ्चालित कार्यक्रममा वक्ताहरूले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको प्रारम्भमा सञ्चालित कार्यक्रममा कावासोती नगरपालिका स्रोत शिक्षक तीर्थ कण्डेल, शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर अध्यक्ष लक्ष्मी गौतम, रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत पोखरेलले शिक्षा प्रणाली, अभिभावक शिक्षाको महत्व लगायतका विषयमा आफ्नो भनाई राखेका थिए ।

विद्यालयका पूर्व प्रधानाध्यापक कमल चापागाइँले सहजिकरण गर्नुभएको यस खण्डको कार्यक्रम बोल्दै स्रोत शिक्षक तीर्थ कँडेलले संस्कार सिकाउने विषय घरबाटै प्रारम्भ हुने धारणा राख्नुभएको थियो । यसका लागि अभिभावकले समेत जोड दिनुपर्ने र अभिभावक हुँदै शिक्षकले समेत यस विषयलाई जोड्दै गए उचित संस्कार सिकाउन सकिने बताउनुभयो । सहजकर्ताले उठाएका विषयको छलफलमा सहभागि बन्दै उहाँले किताबको मूल्याङ्कन मात्रै  विद्यार्थीको मापनको आधार हुन नहुने बताउनुभयो । उहाँले कावासोती नगरपालिकाले यसैलाई मध्यनजर गरि अन्य विविध कृयाकलापलाई जोड्दै शिक्षक, विद्यार्थीलाई सम्मान गर्न थालनी गरेको उहाँले बताउनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर अध्यक्ष लक्ष्मी गौतमले विद्यार्थीको सिकाईलाई थप प्रभावकारी बनाउन  अभिभावक शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । आफूहरूले हप्तामा एक दिन अभिभावकलाई समेत कक्षा दिनुपर्छ भन्ने कुरा उठाइरहेको अध्यक्ष गौतमले बताउनुभयो । उहाँले यसका साथै शिक्षा सार्वजनिक चासोको विषय बन्नुपर्ने बताउनुभयो । ‘हामी, कुल, बाटो , भवन कहाँ कसरी बनाउने भन्ने छलफल गर्छौ ,बहस गर्छौ,  अब शिक्षा कस्तो बनाउने भन्ने विषयमा समेत सबैले बहस गर्न र चासो दिन आवश्यक छ’ कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले भन्नुभयो । शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै रोटरी क्लब अm कावासोतीका संस्थापक अध्यक्ष भरत पोखरेलले बालबालिकालाई सिकाउने सन्दर्भमा उनिहरु लाई जे नगर्न भनिन्छ त्यो अभिभावकले समेत गर्न नहुने बताउनुभयो । र सिकाइ यहीँबाट सुरु हुने तर्क गर्नुभयो ।
आरम्भ एकेडेमीले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा वक्ता डा. ताराजीले विद्यार्थीको सिकाइमा विद्यालय र अभिभावकको भूमिका सहित के कस्ता विषयमा ध्यान दिन जरुरी छ भन्ने विषयमा आफ्नो प्रवचन राख्नुभएको थियो ।

यसैगरी इसीइसी कोर्डिनेटर  शिक्षा भट्टराईले इसीइसीको महत्वका विषयमा जानकारी प्रदान गर्नुभएको थियो । यस क्रममा उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लागि  इसीइसी कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै आरम्भ एकेडेमीका प्रिन्सिपल इन्जिनियर तरुण सिंहले सीप, संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा प्रदान गर्दै आफ्ना विद्यालयमा रहेका बालबालिकालाई सक्षम बनाउन आफू र आफ्नो टिम तयार रहेको बताउनुभयो । ‘ तपाईँहरूले आफ्नो बालबालिका हामीलाई दिनुभएको छ, म भन्न चाहन्छु , म सहित यहाँ  रहेका अनुभवी शिक्षकहरूको साथले हामी  सक्षम नागरिक तयार पारी सुम्पिने छौं’  प्रिन्सिपल सिंहले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका स्वामी डा केशवानन्दले संस्कार सहितको शिक्षाको अहिले उत्तिकै महत्व रहेको बताउनुभयो । ‘हाम्रा बालबालिका हाम्रो भूगोल, हाम्रो परम्परा, हाम्रा पुर्खाले गरिआएका संस्कारको विषयमा थाहा नपाउँदा अलमलमा छन्, पूर्वीय सभ्यतालाई शिक्षासँग जोड्दा उनीहरू सक्षम रुपमा तयार हुनेछन् ’ उहाँले भन्नुभयो । काठमाण्डौमा संस्कार शिक्षा अघि बढ्दै गर्दा उपत्यका बाहिर कावासोतीमा आरम्भ एकेडेमीले यसलाई अघि बढाउनु यहाँको शिक्षाका लागि नयाँ आयाम भएको उहाँले बताउनुभयो ।

यस क्रममा स्वामी डा केशवानन्दले आरम्भ एकेडेमीका प्रबन्ध निर्देशक प्रदिप भुसाललाई संस्कार शिक्षाको पाठ्यक्रम पुस्तक हस्तान्तरण गर्नुभएको थियो । यस क्रममा कार्यक्रमका सञ्चालक एवं सहायक प्रधानाध्यापक राजु पौडेलले आरम्भ एकेडेमीमा संस्कार शिक्षा प्रारम्भ भएको जानकारी गराउनुभएको थियो ।
कावासोतीमा सञ्चालित कार्यक्रमका राष्ट्रिय कलाकार पशुपति शर्माले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्नुभएको थियो । यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना प्रस्तुतिहरू समेत  प्रस्तुत गरेका थिए । अभिभावक शिक्षा कार्यक्रममा  विद्यालयमा अध्यापनरत विभिन्न विधामा  उत्कृष्ट शिक्षकलाई एवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

‘सीप, संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा’ लाई आत्मसाथ गरि आरम्भ एकेडेमी अगाडि बढेको र विद्यार्थीहरूको सिकाईलाई थप प्रभावकारी बनाउन अभिभावकको भूमिका समेत उत्तिकै महत्वपूर्ण हुने विषयलाई आत्मसाथ गर्दै अभिभावक शिक्षा कार्यक्रम ‘मेरा सन्तानका लागि एक दिन सँगै आरम्भ यात्रा’ सञ्चालन गरेको विद्यालयका प्रबन्ध निर्देशक प्रदिप भुसालले बताउनुभयो । आफूहरू शिक्षामा नयाँ प्रयोग गर्दै  आफ्ना विद्यार्थीको समग्र क्षमता विकास गरि सक्षम र विश्व बजार बजारमा भोलिका दिनमा आफूलाई अब्बल रुपमा उभ्याउन सकुन् भनेर लागेको उहाँले बताउनुभयो । यस अघि देशमै पहिलो पटक विद्यालय स्तरमा एसक्युमिट सम्पन्न गरिसकिएको ,फरक रुपमा अभिभावक शिक्षा कार्यक्रम सफल रुपमा सम्पन्न गरिएको र भोलिका दिनमा समेत विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याउने कार्यक्रम आरम्भ एकेडेमीले गर्दै जाने प्रबन्ध निर्देशक भुसालले बताउनुभयो ।

Write your Comment