कावासोती। हिंसा र दुर्व्यवहार अन्त्यको लागि व्यक्ति व्यक्तिलाई सचेतना आवश्यक रहेको जिल्ला समन्वय समिति नवलपुरका उप प्रमुख सकुन्तला लम्सालले बताउनु भएको छ ।जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, नवलपुर किशोरी संजाल, सामुदायिक सेवा केन्द्र नवलपुर, कावासोती वडा नं १० को सहकार्य र क्यान्नलानको सहयोगमा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गतको आइतबार भएको सरोकारवालाको छलफल कार्यक्रममा लम्सालले सो कुरा बताउनु भएको हो ।
उप प्रमुख सकुन्तला लम्सालले वडाभित्र यस्ता खालका धेरै कार्यक्रमहरु र सचेतनाको बारेमा जानकारी दिईयकोले पहिलाको भन्दा अहिले हिंसा, शोषण र दुर्व्यवहारमा कमि आएको बताउनुभयो । व्यक्तिलाई सचेतना दिदा आफुलाई परेको समस्या समेत भन्न सक्ने हुँदा यो निरन्तर चलाउनु पर्ने बताउनुभयो । उहाँले शिक्षा र चेतनामा आमाहरु सचेत भएनन् भने हिंसा बढ्दै जाने भएकाले सबै महिला, अभिभावकहरु यस्ता विषयमा संवेदनशील हुन आग्रह गर्दै स्थानीय सरकारले पनि यसमा चासो राख्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. ले लैंगिक हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथी हुने हिंसाको अवस्था र त्यसको तथ्यांक, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, आमा समुह, महिला समूह, अभिभावकहरुको भुमिका र हिंसा, दुर्व्यवहार भएमा निकायहरुमा समन्वय गर्न सकिने निकायको बारेमा जानकारी गराउँदै प्रस्तुतिकरण गर्नु भएको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोती नगरपालिकामा संचालन भइरहेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका गतिविधिहरु तथा अभियानहरुको बारेमा जानकारी दिँदै अव यस्ता कार्यक्रमहरु वार्ड र नगरले नियमित गर्नुपर्ने र त्यसको समन्वयको लागि सस्था तयार रहेको बताउनुभयो । कावासोती वडा नम्बर १० का वडा अध्यक्ष टेकनारायण महतोले वडा भित्र पछि परेको समुदायमा विषेश गरि साना साना बालबालिकाहरुले भागी विवाह गर्ने तथा अभिभावकको दबाबले पनि बाल विवाहका घटनाहरु भइरहेको कुरा बताउनु भएको थियो । उहाँले संस्थाले विगत देखि नै वडासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिँदै आगामी दिनमा पनि समन्वय गरि काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, समुदायस्तरमा रहेका विभिन्न आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, अभिभावक, जिल्ला प्रहरी कार्यालय, संचारकर्मीहरु सहित ४२ जनाको उपस्थिति रहेको थियो ।