आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

पढ्दै कमाउँदै पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरु

    प्रकाशित २०८० फागुन २३, बुधबार (१ महिना अघि)


देवचुली। देवचुली १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले मौसम अनुसारको तरकारीको बेर्ना बिक्री,अचार तयार गर्ने, च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी समेत गर्न थालेका हुन् ।


पृथ्वी माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक विद्यालयमा च्याउ उत्पादन गरी बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाले जानकारी दिनुभयो । विद्यार्थीहरुले उत्पादन गरेको च्याउ विद्यालयबाट नै बिक्री हुने गरेकाले बजारको समस्या नभएको सापकोटाले बताउनुभयो । विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर तरकारी खेती सुरु समेत गरिएको छ । प्रधानाध्यापक सापकोटाका अनुसार विद्यार्थीहरुले उत्पादन गरेको च्याउ विद्यालयबाटै प्रतिकेजी एक सय ६० रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ ।

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर घर्ती मगरले बताउनुभयो । विद्यार्थीहरुले च्याउ खेती मात्र तरकारी खेती र माछापालन समेत गरेको उहाँले बताउनुभयो । विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको च्याउ, तरकारी लगायतको बजार खोज्न समेत सघाउँछौँ” अध्यक्ष घर्ती मगरले भन्नुभयो ।


माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातासम्म ६० केजीभन्दा बढी च्याउ बिक्री गरेका छन् । विद्यार्थीहरुले तयार गरेका ४० डब्बा अचार समेत बिक्री गरिएको छन् । विद्यालयमा बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले सामुहिक रुपमा तरकारीको बेर्ना उत्पादन, च्याउ खेती, तरकारी खेती, गड्यौले मल उत्पादन र माछा पालन गरेका छन् ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको कक्षा ९ मा अध्ययनरत प्रितम कार्की बताउँछन् । विद्यालयमा पढाईसँगै अतिरिक्त समय र बिदाका दिनमा विद्यार्थीहरुसँगै शिक्षक मिली तरकारी खेती, च्याउ खेतीमा काम गर्ने गरेको कृषि प्रशिक्षक गौरव भण्डारीले बताउनुभयो । गत वर्ष ५० हजार रुपैयाँको माछा बिक्री गरिएकोमा यस वर्ष पनि माछा बिक्रीका लागि तयार हुन लागेको उहाँले बताउनुभयो । विद्यालय लगाईने तरकारीहरुमा विद्यालयमा नै तयार गरिएको गड्यौले मल प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । ` सबै जना आएर हामीले गरेको कार्यको अवलोकन गरि सुझाव दिन अनुरोध गर्दछु´ उहाँले भन्नुभयो ।

पृथ्वी माध्यमिक विद्यालयमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई कक्षा ९ देखि १२ सम्म नियमित पढाइ भइरहेको छ । विद्यालयमा उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ६ जना शिक्षक दरबन्दीमा रहेका छन् ।

Write your Comment