आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री दाहालद्वारा भरतपुर भ्रमण वर्ष उदघाटन

    प्रकाशित २०८० फागुन १८, शुक्रबार (१ महिना अघि)


चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष २०८० काे उद्घाटन गरेका छन् । शुक्रबार नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताए ।

प्रधानमन्त्री दाहालले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले सुस्ताएको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरे । ‘देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ । ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । ‘प्रशस्त पूर्वाधार रहेकाे भतरतपुर कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई समेत आधार बनाएर अगाडि बढिरहेको छ ’ उनले भने, महानगरपालिकामा पर्यापर्यटन, खेल, धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमशः अगाडि बढ्दै छ ।’

उनले समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु रहेकाले प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने प्रसस्त सम्भावना रहेकाे बताए । उनले भ्रमण वर्ष उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको बताए । उनले भने – ‘उद्घाटन सत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ ।’ २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्दै सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवर्द्धन गर्ने उनले बताए । `सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ ।’ उनले आफूले सुशासनको क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रहरुमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी गरे ।’

Write your Comment