आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

सारा कम्युनिष्ट बस्न सक्ने पार्टी एमाले हो : उप महासचिव गुरुङ

    प्रकाशित २०८० फागुन १५, मंगलबार (२ महिना अघि)


दयाराम आचार्य, नवलपुर । नेकपा एमालेका उप महासचिव पृथ्बीसुब्बा गुरुङले सारा कम्युनिष्ट बस्ने सक्ने पार्टी एमाले भएको बताउनु भएको छ । नवलपुरको कावासोतीमा एकिकृत समाजवादी परित्याग गरि एमालेमा फर्किएका जिल्ला अध्यक्ष सहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उप महासचिव गुरुङले एमाले मात्रै सबै कम्युनिष्ट बस्न सक्ने पार्टी भएको बताउनु भएको हो ।

‘अहिले पनि जनता कुन पार्टी सुपात्र हो भनेर अलमलमा छन्, भ्रममा छन्, समाजवाद स्थापना गर्ने हो भने, समाजवादको सही नीति सिद्धान्त र बिचार बोकेको पार्टी एमाले हो, सारा कम्युनिष्ट अट्न सक्ने, सबैजना बस्न सक्ने पार्टी एमाले हो, अहिलेको सुपात्र एमाले मात्रै हो’ उप महासचिव पृथ्बीसुब्बा गुरुङले भन्नुभयो ।

कार्यक्रममा बोल्दै उप महासचिव गुरुङले क्रान्ति सम्पन्न भएर सामन्तवाद ,राजतन्त्र सकिएपनि मुलुक अझै पनि पूर्ण स्वतन्त्र, पूर्ण स्वाधीन हुन नसकेको उल्लेख गर्नुभयो । पाँच हजार छ सय वर्ग किलोमिटर जमिन अझैपनि अतिक्रमणकारीको कब्जामा रहेको र असमान सन्धिको पञ्जा रहिरहेको बताउँदै यसबाट मुक्त गराउने पात्र भनेकै एमाले भएको बताउनुभयो । ‘कांग्रेसले स्वाधीनताको पक्षमा कहिल्यै बोलेको छैन, हाम्रो स्वाधीनता मिच्न चाहनेको दलाली गरेर बसेको छ । माओवादीले राष्ट्रिय स्वाधीनताको मुद्दा छोड्यो ,राष्ट्रिय आत्मसमर्पण वादको नीति लियो त्यसकारण अब एमालेमात्रै स्वाधीनताको पक्षमा रहेको पार्टी हो’ उप महासचिव गुरुङले भन्नुभयो ।

उप महासचिव गुरुङले नेपालमा समाजवाद ल्याउन, शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिको रक्षा गरेर शक्ति सञ्चय गर्दै जान मुलुकका सबै कम्युनिष्टहरु, सबै देशभक्तहरू एमालेमा आउनुको विकल्प नभएको समेत बताउनु भएको छ । लोकतन्त्रको रक्षा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उप महासचिव गुरुङले भन्नुभयो ‘ हामीले भनेका छौं प्रचण्ड कमरेडहरूलाई, माधव कमरेडहरूलाई तपाईँहरू नेपाली काँग्रेस जसको उद्देश्य दलाल पुँजीको संरक्षण गर्ने हो, जसको उद्देश्य आफ्नो स्वार्थ सिद्धगर्न देशलाई दाउमा राख्ने नीति छ, त्यस्तोको काधमा बसेर तपाईंले समाजवाद ल्याउन सक्नुहुन्न । स्वाधीनताको कोणबाट, समाजवादको कोणबाट ,कम्युनिष्टको कोणबाट होस या लोकतन्त्रको कोणबाट हेर्दा एमालेनै सच्चा पार्टी हो ।’

कावासोती स्थित पार्टी कार्यालयमा भएको पार्टी प्रवेश तथा घर फर्क कार्यक्रममा एकीकृत समाजवादी र माओवादी केन्द्र परित्याग गरेका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षता ,जिल्ला उप सचिव भिमलाल कँडेलको सञ्चालन, उप सचिव यमुनाथ आचार्यले स्वागत गर्नुभएको पार्टी प्रवेश तथा घर फर्क कार्यक्रम एमाले पोलिटब्युरो सदस्य मना केसी, केन्द्रिय सदस्य तिलक महत, कृष्ण पौडेल, संविधान सभा सदस्य जिवन श्रेष्ठ, प्रदेश कमिटीका सदस्यहरू लगायत जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Write your Comment