आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

भरतपुर भ्रमण वर्ष सफल बनाउन वडाध्यक्षहरूको तीव्र प्रतिस्पर्धा

    प्रकाशित २०८० फागुन १३, आईतबार (५ महिना अघि)


भरतपुर । भरतपुर वडा नम्बर १२ का वडाअध्यक्ष लेखराज पन्त हरिले कस्तुरी टोल विकास संस्थाको बैठकमा भने, ‟महानगरपालिकामा क्रिकेट खेलमा जित्ने र हार्ने युद्ध जस्तो च्यालेन्जिङ भएको छ, अहिले अरु ध्यान छैन भ्रमण वर्षको बारेमा कुन वडाले कस्तो काम देखाउँछ भन्ने छ । त्यसैले हामी सबै जुटौं ।”

भरतपुर भ्रमण वर्षलाई प्रत्येक वडाले आफ्नो पहिचान र अस्तित्वसँग पनि जोडेका छन् । हिजोआज भरतपुरका चोक, गल्ली, चौतारा र घरघरमा पनि भरतपुर भ्रमण वर्षबारे चर्चा भएको सुनिन्छ । भरतपुरका २९ वटै वडा अध्यक्षहरु भ्रमण वर्षको उद्घाटन समारोहमा आफ्नो वडाबाट कसरी व्यापक जनसहभागिता गराउन सकिन्छ भन्ने प्रयत्नमा जुटेका छन् । महानगरको एक कार्यक्रममा भेटिएका भरतपुर १३ का वडाध्यक्ष प्रकाश दवाडी भ्रमण वर्षको उद्घाटन समारोहमा वडा अध्यक्षहरुको तीव्र प्रतिष्पर्धा चलिरहेको बताउँछन् ।

वडाका विभिन्न टोलमा सरसफाई, बृक्षारोपण, खेलकुद प्रतियोगिता, राजनीतिक दल, युवा क्लब, आमा समूह, बौद्धिक वर्ग, आदिवासी, जनजाति आदि सबै पक्षलाई समेटेर वडास्तरमा अन्तरक्रिया र छलफल चलाइरहेको वडा नम्बर २२ का अध्यक्ष बिष्णुराज महतोले बताए । उनले भने, ‘भ्रमण वर्ष भरतपुरबासीका लागि उत्सव हो, यो भरतपुर र सिंगो चितवनको विकासका लागि दीर्घकालीन अभियान भएकोले सबै वडाबासी अत्यन्तै उत्साही छन् ।”

भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडी आफ्नो टिम लिएर वडाको बिभिन्न आमा समूह र टोल विकास संस्थामा पुगिरहेका छन् । उनी भन्छन्, “पर्यटकीय स्थलहरुमा पर्यटक आउ‘दा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा हामी बिशेष ध्यान दिइरहेका छौं । उद्घाटन समारोह एक विशेष उत्सव भएकोले सबै वडावासीको सहभागितामा व्यापक र उत्कृष्ट बनाउने योजना बुनिरहेका छौं ।”

भरतपुर महानगरले फागुन १८ गते तदनुसार मार्च १ सन् २०२४ मा नारायणी नदी किनारमा भव्य समारोहको आयोजना गरी भरतपुर भ्रमण वर्षको औपचारिक रुपमा शुभारम्भ गर्दैछ । उद्घाटन समारोह अघि हुने र्‍यालीमा वडास्तरबाट सबै समुदायलाई समेटेर झाँकी, बाजागाजा, भेषभुषा, संस्कृति, सभ्यता आदिलाई जोडेर विशाल र्‍यालीको आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । सो र्‍यालीमा उत्कृष्ट हुने वडाहरुलाई महानगरले नगद पुरस्कारको समेत व्यवस्था गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो समारोहमा नेपाल सरकारका मन्त्रीहरु, सातवटै प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु र अन्य विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएको प्रमुख दाहाले बताइन् । भरतपुर भ्रमण वर्षले भरतपुरको मात्रै नभई सिंगो चितवनको विभिन्न पक्षको प्रवद्र्धनका लागि दीर्घकालीन प्रभाव राख्ने भएकोले सबै चितवनबासीलाई यसको प्रचारप्रसारमा लाग्न आग्रह पनि गरिन् ।

विशाल दुई ठूला नदीहरु रापती र नारायणीको काखमा रहेको भरतपुर प्राकृतिक रुपले निकै सुन्दर भएको र संसारकै पर्यटकीय गन्तव्यमा पहिचान दिन सक्ने गरी विकास अगाडि बढेकोले समग्र नीजि क्षेत्रले यसको अपनत्व लिनुपर्ने उनको भनाई छ ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले राप्ती दून उपत्यकाको विकाससंगै बस्ती बस्न शुरु भएको भरतपुर स्थापनाको करिव ७० वर्ष पार गरिरहेको समयमा आयोजना गरिएको भरतपुर भ्रमण वर्षले भरतपुरलाई नयाँ पहिचान दिने विश्वास व्यक्त गर्छन् । उनले सबै राजनैतिक दल र समाजका बिभिन्न पक्षहरु मिलेर नै भरतपुरको विकास संभव भएकोले भरतपुर भ्रमण वर्ष सफल पार्न पनि एकपटक सबैलाई एकीकृत हुन आह्वान गरे ।

भरतपुरका सबै वडाध्यक्ष र जनप्रतिनिधि एवम् सबै कर्मचारीहरु भ्रमण वर्षको अभियान सफल पार्न तल्लो तहबाटै लागिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए । भरतपुर भ्रमण वर्षले सिंगो देशलाई नै सन्देश दिनेगरी तयारी भइरहेको उनको भनाई छ ।

भरतपुरमा सुर्योदयदेखि सुयास्तसम्म देखिने भौगोलिक स्थान छन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, हात्ती लगायत जंगली जनावरहरुको अवलोकन, नारायणी र रापती नदीमा बोटिङ, जीप सफारी, हात्ती सफारी, देवघाट, मौलाकालिकाजस्ता धार्मिक क्षेत्रको अवलोकन, प्याराग्लाईडिङजस्ता रोमाञ्चक क्रियाकलापमा पर्यटकहरुको आकर्षण छ ।

Write your Comment