आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई

    प्रकाशित २०८० फागुन ९, बुधबार (५ महिना अघि)


मीना कँडेल,कावासोती । नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई प्रदान गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले सो पुरस्कार प्रदान गर्नुभएको हो । गण्डकी प्रदेशसभा सदस्य पौडेलले खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले खानपान, आचरण र नियमित योग गरेमा स्वस्थ रहन सकिनेमा जोड दिनुभयो । करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताउनुभयो । धूमपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । तर पछिल्लो समयमा महिलाहरुको स्तन, पाठेघर क्यान्सर पनि बढ्दो रहेकाले यसबारे जनचेतना जगाउन सकेमात्र पनि क्यान्सरका बिरामीको सङ्ख्या कम हुने चिकित्सकहरूको भनाइ छ ।

कावासोती नगरपालिका २ का वडाध्यक्ष शिव पाण्डे, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उहाँको योगदानलाई भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिकाे पत्रकारिताबाट नै न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो । समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँगाउँमा सचेतना अभियानसमेत चलाउनुभएकी बस्यालकोे निधनपछि फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिनुभएको छ ।

Write your Comment