आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

    प्रकाशित २०८० माघ २९, सोमबार (२ महिना अघि)


काठमाडौं । ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ । २३३ रन पछ्याएको नेपालले ४४ ओभर ३ बलमा एक विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्दै नौ विकेटको जित निकालेको हो । योसँगै नेपालले क्यानडासँग तीन खेलको द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज क्लिन स्वीप गरेको छ ।

नेपालले सहज जित निकाल्न अनिल र भीमको दोस्रो विकेटका लागि अविजित १८९ रनको रेकर्ड साझेदारी कारक बन्यो । जसमा दुबैले आफ्नो अन्तर्राष्ट्रिय एक दिवसीय (ओडिआई) करिअरमा पहिलो शतक पूरा गरे । अनिलले १२४ बलमा ११२ रन जोड्दा भिमले १२९ खेलेर १०१ रनको योगदान दिए। जसमा अनिलले १२ चौका, दुई छक्का र भीमले ११ चौका र एक छक्का प्रहार गरे ।नेपालले एक मात्र विकेट १४ रनको व्यक्तिगत योगदान दिएका कुशल भुर्तेलका रुपमा गुमाएको थियो। जुन क्यानडाका बलर डिलोङ हाइलिजरले लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रनको मध्यम स्कोर खडा गरेको थियो । जसमा ओपनर नवनीत धलिवालले सर्वाधिक ५० रन, निखिल दत्ताले ४५ रन, कप्तान साद बिन जाफरले ३१ रन, हर्ष ठाकरले २९, श्रेयश मोभ्भाले २५ र श्रीमन्थ विजयरत्नेले २२ रन बनाएका थिए । क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका हेमन्त धामीले तीन विकेट, कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले एक/एक विकेट लिएका थिए ।

यसअघि सिरिजका दुई खेल जितिसकेको नेपालले अन्तिम खेल जितेसँगै तीन खेलको सिरिज ‘क्लिनस्वीप’ भएको छ।

Write your Comment