आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विज्ञान प्रदर्शनी :आधारभूततर्फ दिव्य ज्योति,मावि (११-१२) तर्फ पृथ्वी र मावि (९-१०) तर्फ सकलादेवी प्रथम

    प्रकाशित २०८० माघ २७, शनिबार (५ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालन भएको विज्ञान प्रदर्शनीमा आधारभूत तह (कक्षा ६-८) तर्फ दिव्य ज्योति आधारभूत विद्यालय, माध्यमिक तह ( कक्षा ११-१२) तर्फ पृथ्वी माध्यमिक विद्यालय र माध्यमिक तह ( कक्षा ९-१०) तर्फ सकलादेवी माध्यमिक विद्यालय प्रथम भएका छन् ।“आर्थिक विकास र स्वरोजगार : समृद्ध देवचुली निर्माणको आधार” भन्ने मुख्य उद्धेश्य सहित देवचुली नगरपालिकाको आयोजना तथा नेपाल माध्यमिक विद्यालयको समन्वयमा नगरपालिका स्तरीय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्ने उद्धेश्यले विगत वर्षदेखि निरन्तर कार्यक्रम गर्दै आइरहेको देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा देवचुली नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहमा ४ वटा विद्यालय, माध्यमिक तह (९-१०) मा ९ वटा विद्यालय र माध्यमिक तह (११-१२) मा ४ वटा विद्यालयको प्रतिष्पर्धा रहेको थियो।

नेपाल माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकीको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले कार्यक्रमबाट विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गर्न सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाले विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतिका लागि विभिन्न योजना बनाएको बताउँदै आगामी दिनमा समेत विभिन्न शैक्षिक कार्यक्रम गर्ने बताउनुभयो ।

विज्ञान प्रदर्शनीमा आधारभूत तर्फ दिव्यज्योति आधारभूत विद्यालयले प्रथम हुँदै नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ भने माध्यमिक तहा (११–१२) तर्फ पृथ्वी मा.वि प्रथम हुँदै नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि माध्यमिक तह (९-१०) तर्फ सकलादेवि माध्यमिक विद्यालय प्रथम, भीमसेन आदर्श माध्यमिक विद्यालय द्धितीय र जन ज्योती माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् । प्रथम, दितीय र तृतीय हुने विद्यालयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, वडा अध्यक्षहरु,विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुले विद्यार्थीहरुले तयार पारेका विज्ञान प्रदर्शनीका स्टलहरुको अवलोकन गरेका थिए ।उक्त कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटाले गर्नुभएको थियो ।

Write your Comment