आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० माघ २६, शुक्रबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र ग्रिन फाउण्डेशन नेपालको आयोजना तथा विभिन्न संस्थाको समन्वयमा सहभागितामुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको अध्यक्ष मना भण्डारी अध्यक्षता भएको कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालको निवर्तमान अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका पदाधिकारीहरु, स्थानीय वन महासंघ देवचुलीका पदाधिकारीहरु, देवचुलीमा रहेका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ निवर्तमान केन्द्रिय अध्यक्ष भारती पाठक तीन तहको सरकारबिच तालमेल नमिल्दा सामुदायिक वन मारमा परेको बताएकी छिन् । संघिय वन ऐन २०७६,संघिय आर्थिक ऐन र प्रदेश वन ऐनमा सामुदायिक वनमा फरक फरक राजश्व निर्धारण हुँदा सामुदायिक वनहरु मरमा परेको उनको भनाई छ । साथै उनले स्थानीय तहको सिफारिसविना सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदा थप समस्या हुने गरेको बताएकी छन् । स्थानीय सरकार र डिभिजन वन कार्यालयले संयुक्त रुपमा कार्ययोजना निर्माण र परिमार्जनमा सहभागिता भए वन र स्थानीय क्षेत्रको विकासमा एकरुपता आउने उनको भनाई छ ।

कार्यक्रममा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीले सामुदायिक वनहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर नदिँदा महालेखा परिक्षण प्रतिवेदनमा पालिकालाई बेरुजुमा राखेको बताएकी छिन् । प्रदेश सरकारले ताकेता गरेपछि तुरुन्तै कर तिर्ने तर स्थानीय क्षेत्रमै रहेको सरकारलाई कर नतिर्दा पालिका विकासमा समेत व्यवधान पुगेको उनले बताइन् । साथै उनले पालिका भित्र रहेका सबै सामुदायिक वनलाई स्थानीय सरकारमा कर तिर्न अपिल समेत गरेकी छन् ।

कार्यक्रममा ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले सामुदायिक वन र वनमा उत्पादित गैर काष्ठ वन पैदावारलाई उद्यममा जोड्न सके समुदायको विकास र रोजगारीमा टेवा पुग्ने बताएका छन् ।

कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालको कार्यक्रम अधिकृत प्रकृति भुसाल र डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी वडा अध्यक्षहरु,सामुदायिक वनका अध्यक्ष हरुले सामुदायिक वनको संरक्षण स्थानीयले गरिरहँदा वन पैदावरको प्रयोग गर्दा अनेकौं झन्झटले समस्या आएकाले सहजीकरण गर्न र सामुदायिक वनले तिर्नुपर्ने करलाई व्यवस्थित गर्नुपर्ने आवाज उठाएका थिए । जंगली जनावरबाट किसानको बालीनालीमा क्षती पुर्‍याएको भन्दै त्यसको समस्या समाधान गर्न वन कार्यालयले योजना बनाउनका लागि समेत आग्रह गरेका थिए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेले स्वागत मन्तव्य राखेका थिए भने सचिव सुशील पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Write your Comment