आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नारायणगढ-बुटवल सडकलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय

    प्रकाशित २०८० माघ २३, मंगलबार (५ महिना अघि)


काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो ।

बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको ठोस कार्यतालिका पेस गर्न लगाई कार्यान्वयन गर्ने र त्यसका लागि छुट्टै टिम परिचालन गर्ने ।’ बैठकले दाउन्ने खण्डमा निर्माण गर्दा यातयात सञ्चालनमा हुन सक्ने अवरोधबारे निर्माण व्यवसायीबाट ठोस कार्ययोजना १ साताभित्र पेस गर्नुपर्ने र कार्ययोजना अनुसारको सहमतिलाई सम्बन्धित पक्षले कार्यान्वयन गर्ने सहमति समेत भएको छ । यसअगाडि सहमत भएको लक्ष्य भन्दा १० प्रतिशत कम प्रगति भएको र यस आर्थिक वर्षभित्र यसअघिको १० पूरा हुने गरी कार्यतालिका प्राप्त गरी मासिक रुपमा अनुगमन गर्ने र लगातार ३ महिना लक्ष्य पूरा नगरे सम्झौताको शर्त अनुसार कारबाही अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले वर्षायामको सम्भावित अवरोध हटाउने योजना तय गरी कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

निर्माण सामग्रीको नियमित आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने निर्णय समेत भएको छ । निर्माण व्यवसायीले शर्त पालना नगरेमा योजना कार्यालयबाट ठेक्का अन्त्य गर्ने निर्णय समेत भएको छ ।प्याकेजका कामहरु आगामी जुनसम्म कम्तीमा २ लेन सडक निर्माण सम्पन्न नभए सम्झौता अनुसार कारबाही अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।

Write your Comment