आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रेस चाैतारी स्थापना दिवस : नवलपुरको विकासका सम्भावनामा अन्तरक्रिया

    प्रकाशित २०८० माघ २३, मंगलबार (५ महिना अघि)


कावासोती । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार नवलपुर जिल्लाको विकासका सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य मना जि.सी.ले जिल्लाको पहिचान स्थापित गराउनका लागि पनि हाल संघर्ष गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । नवलपुर जिल्ला भन्ने स्थापित गराउनका लागि जिल्लाको नामाकरण सहित यहाँका विभिन्न पक्षहरुको प्रचार प्रसार सञ्चार माध्यमबाट गराउनु पर्ने बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले जिल्लामा अगाडी बढेका समृद्धिका कतिपय कार्यक्रमहरु सरकार परिवर्तन भएसंगै कार्यान्वयन नहुने अवस्थामा पुगेको भन्दै नमुना सदरमुकाम, धौवादी फलाम खानी, त्रिवेणी भन्सार सहितका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन हुन सक्दा जिल्लाको मुहार फेरीने बताउनुभयो ।

नेकपा एमाले नवलुपरका अध्यक्ष मुक्तिराम पाण्डेले सञ्चार क्षेत्रले आयोजना गरेको अन्तरक्रियाले यहाँको राजनितिक नेतृत्वलाई घचघचाई रहेको भन्दै जिल्लालाई आवश्यक हरेक विषयहरुको पहिचान गरेर त्यसको क्रमिक विकास गर्नु पर्ने बताउनुभयो ।

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले स्थानीय सरकारले आफ्नो स्थानीय तह भित्रको विकास निर्माण र प्रभावकारी बजेट कार्यान्वयनलाई प्राथमिकता राखेको भन्दै अन्य प्रदेश र संघ सरकारबाट हुने कार्यक्रमलाई स्थानीय आवश्यकता र पहिचानको आधारमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष नारायण शर्माले पत्रकारहरुको पेशागत संगठनको रुपमा प्रेस चौतारीले २६ औं वर्ष प्रवेश गरेकोमा शुभकामना दिदै बहस कार्यक्रम आयोजनाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग संयोजक सागर पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य हिमालदेव पंगेनी, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दिपक भट्टराई, जिल्ला सभापति बिरेन्द्र पराजुली, प्रेस सेन्टर सचिव बोमलाल गिरी, प्रेस युनियन सभापति खगराज सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष शालिकराम काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दयाराम आचार्यले स्वागत र सचिव तिर्थ डुम्रेले कार्यक्रम संचालन गर्नुभएको थियाे।

Write your Comment