आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : सोमबार जन ज्योति र भीमसेनबीच फाइनल हुने

    प्रकाशित २०८० माघ २२, सोमबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा आज (सोमबार) जन ज्योती माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालयबीच फाइनल खेल हुने भएको छ । लिग चरणमा खेलाइएको खेलमा समूह `ए´ बाट जन ज्योति माध्यमिक विद्यालय र समूह `बी´ बाट भीमसेन आदर्श माध्यमिक विद्यालय समूह बिजेता हुँदै फाइनल प्रवेश गरेका हुन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल माध्यमिक विद्यालयले जीवन ज्योति माध्यमिक विद्यालयलाई १८ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपाल माध्यमिक विद्यालयले सुजल मल्लको २२ रन र सुजन क्षेत्रीको १७ रनको मद्दतले २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । बलिङतर्फ जीवन ज्योति माध्यमिक विद्यालयका समीर श्रेष्ठ र रेशम आचार्यले ३/३ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको जीवन ज्योति माध्यमिक विद्यालयले १५.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रनमा समेटिएको थियो।जीवन ज्योति माध्यमिक विद्यालयबाट सुवास पौडेलले ३० रन र संजय बिकले २१ रन बनाएका थिए ।बलिङ्तर्फ नेपाल माविका सुजन क्षेत्रीले ४ विकेट र सुजल मल्लले २ विकेट लिएका थिए । खेलमा नेपाल माध्यमिक विद्यालयका सुजन क्षेत्री प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत सोमबार भीमसेन आदर्श माध्यमिक विद्यालयका विरुद्ध जन ज्योति माध्यमिक विद्यालयबीच बिहान ११ बजेबाट फाइनल खेल हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment