आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

अन्तर विद्यालय जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : शुक्रबार जन ज्योति र भीमसेन विजयी

    प्रकाशित २०८० माघ १९, शुक्रबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा शुक्रबार जन ज्योती माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

शुक्रबार भएको पहिलो खेलमा जन ज्योती माध्यमिक विद्यालयले लक्ष्मी माध्यमिक विद्यालयलाई ४ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको लक्ष्मी माध्यमिक विद्यालयले परेशान भट्टराइको ६९ रन र सन्दिप तामाङको २२ रनको मद्दतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन बनाएको थियो । बलिङतर्फ जन ज्योति माध्यमिक विद्यालयका करन सुनार र अमृत भुसालले ३/३ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको जन ज्योति माध्यमिक विद्यालयले २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाउँदै ४ विकेटले जित हासिल गरेको थियो । जन ज्योति माध्यमिक विद्यालयबाट हरि सुबेदीले ६५ रन र कृष्ण घर्तीले २८ रन बनाएका थिए । खेलमा जन ज्योति माध्यमिक विद्यालयका हरि सुबेदी प्लेयर अफ दि म्याच भएका थिए ।

त्यसै गरी शुक्रबार भएको दोस्रो खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालयले जीवन ज्योति माध्यमिक विद्यालयलाई १० विकेट हराउँदै विजयी भएको छ। पहिले ब्याटिङ गरेको जीवन ज्योतिले अन्जान गुरुङले १० रन र सौगात बिकले ९ रन मात्र बनाउँदै ९.३ ओभरमा सबै विकेटको क्षतिमा ५० रन मात्र बनाएको थियो। भीमसेन आदर्श माध्यमिक विद्यालयका विशाल भुसालले ४ विकेट र कमल अधिकारीले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले ७.३ ओभरमा बिना विकेटको क्षतिमा ५२ रन बनाउँदै जित निकालेको थियो। भीमसेनबाट शैलेश काफ्लेले २४ रन र रजत भुर्तेलले १६ रन बनाएका थिए । दोस्रो खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालयका विशाल भुसाल प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेल जन ज्योति माध्यमिक विद्यालयका विरुद्ध वरचुली माध्यमिक विद्यालय र दोस्रो खेल नेपाल माध्यमिक विद्यालयका विरुद्ध देवचुली माध्यमिक विद्यालयबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment