आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : बुधबार भीमसेन मावि र लक्ष्मी मावि विजयी

    प्रकाशित २०८० माघ १७, बुधबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा बुधबार भीमसेन आदर्श माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

बुधबार भएको पहिलो खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालयले देवचुली माध्यमिक विद्यालयलाई ३ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको देवचुली माध्यमिक विद्यालयले स्वागत पाण्डेको ५७ रन र आयुश बिकको १५ रनको मद्दतले १६.२ ओभरमा सबै विकेटको क्षतिमा १३० रन बनाएको थियो । बलिङतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका विशाल भुसाल र रिजन भुसालले ४/४ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले ७ विकेटको क्षतिमा १३५ रन बनाउँदै जित निकालेको हो । भीमसेनबाट रजत भुर्तेलले २७ रन र रिजन भुसालले ३० रन बनाएका थिए । देवचुलीबाट लालु पटेल र विपिन लामिछानेले २/२ विकेट लिएका थिए। खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालयका रिजन भुसाल प्लेयर अफ दि म्याच भएका थिए ।

त्यसै गरी बुधबार भएको दोस्रो खेलमा युनिक बोडिङ स्कुललाई लक्ष्मी माध्यमिक विद्यालयले १०३ रनले हराउँदै विजयी भएको थियो। पहिले ब्याटिङ गरेको लक्ष्मी माविले सुवास थापाको ७७ रन र दिक्षित अधिकारीको ४१ रनको मदतले १८ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनाएको थियो। युनिक बोडिङ स्कुलका सुमित सापकोटा र रन्जित जिसीले ३/३ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको युनिक बोडिङ स्कुलले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन मात्र बनाएको थियो। युनिकबाट सुमित सापकोटाले २२ रन र सुमित तिमिल्सिनाले १२ रन बनाएका थिए । खेलमा लक्ष्मी माविका सन्दिप तामाङले ४ विकेट र प्रिन्स सापकोटाले ३ विकेट लिएका थिए। दोस्रो खेलमा लक्ष्मी माविका सुवास थापा प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल भीमसेन आदर्श माध्यमिक विद्यालयका विरुद्ध नेपाल माध्यमिक विद्यालय र दोस्रो खेल युनिक बोडिङ स्कुलका विरुद्ध वरचुली माध्यमिक विद्यालयबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment