आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवघाटको झोलुङ्गे पुल जोखिममा,नयाँ पुल बनाउन माग

    प्रकाशित २०८० माघ १६, मंगलबार (५ महिना अघि)


नवलपुर । पवित्र तीर्थस्थल देवघाटधाममा चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिम अवस्थामा रहेको छ । मानिस ओहोरदोहोर गर्नका लागि बनाइएको यो पुलमा मोटरसाइकल कुदाउन थालेपछि जोखिममा परेको हो । हरेक वर्ष पुलको मर्मत सम्हार गर्ने गरिन्छ । सामान्यतया मानिस मात्रै हिँडेको अवस्थामा यो पुलको आयु ५० वर्ष हुने गर्दछ ।सस्पेन्सन ब्रिज डिभिजनका सब इञ्जिनीयर गोपालबहादुर थापा पुलमा चाप बढी भएकाले ४४ वर्षअघि बनेको यो पुल जोखिममा रहेको बताउनुहुन्छ । विगत आठ वर्षदेखि यो पुलको मर्मत सम्हारको नेतृत्व गर्नुभएका थापाको भनाइमा तत्काल नयाँ पुल बनाउनुको विकल्प छैन ।

पुलको चितवनतर्फका भागमा फलामको टेका लगाएर लठ्ठा अड्याइएको भन्दै उहाँले एकपटकमा एक सय जनाभन्दा बढी आवतजावत गर्न रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार पुल नयाँ हुँदै गर्दा एकपटकमा सात सय जनासम्म यात्रा गर्न मिल्ने गरी बनाइएको थियो ।

उहाँले भन्नुभयो, “मोटरसाइकल कुँदाउँदा पुलको आयु घट्यो र धेरै नोक्सान भयो ।” नयाँ पुल बनाउनका लागि नक्साङ्कन गरिएको भए पनि ठाउँको अभावमा काम हुन नसकेको उहाँले बताउनुभयो । दुइ सय ४० मिटर लामो झोलुङ्गे पुलको डिजाइन भइसकेको छ । सोही ठाउँमा पुल बनाउँदा पुरै बाटो अवरुद्ध हुने भएकाले निर्णय लिन नसकिएको उहाँ बताउनुहुन्छ । वैकल्पिक उपयुक्त ठाउँ नभेटिएकाले काम हुन नसकेको थापा बताउनुहुन्छ ।नेपालमा सबैभन्दा बढी मानिस आवतजावत गर्ने झोलुङ्गे पुलमा यो पर्ने भन्दै उहाँले तत्काल नयाँ बनाउनु पर्नेमा जोड दिनुभयो । पुल जोखिममै भएका कारण हरेक वर्ष मर्मत गर्दै आएको उहाँले जानकारी दिनुभयो । गएको शुक्रबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।

पवित्र तीर्थस्थल देवघाट प्रवेश गर्ने मुख्य मार्गमा यो पुल पर्दछ । विकल्पमा दासढुंगा पक्की पुल बनेको छ । ठिमुरामा नयाँ पुल सञ्चालनमा आउने तयारीमा छ । यद्यपी यो पुल नै सबैका लागि पायक पर्दछ । देवघाट धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थल हो ।

Write your Comment