देवचुली। स्थानीय तहमा मानव अधिकार र सुशासन प्रवर्द्धन सम्बन्धि नवलपुरमा छलफल तथा अन्तरक्रिया गरिएको छ। नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच (मानव अधिकार एलाइन्स) नवलपुरको आयोजनामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु समेतको उपस्थितिमा शनिबार कावासोतीमा कार्यक्रम गरिएको हो।नवलपुरका स्थानीय ६ वटा तहमा नेकपा एमालेले विजय हासिल गरेको र उक्त स्थानीय तहमा मानव अधिकार तथा सुशासन प्रवर्द्धनका विषयमा छलफल गर्नका लागि मानव अधिकार एलाइन्स नवलपुरका सचिव दिपक शर्माले जानकारी दिए।
मानव अधिकार एलाइन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरि नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका सचिव मिलन धरेल,नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डे,नेकपा एमाले गण्डकी प्रदेशका सदस्य नारायण तिमिल्सिना,विद्रोही गिरी,मानव अधिकार एलाइन्स पार्टी कमिटीका इन्चार्ज भुपेन्द्र खनाल,मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज दिपक प्रसाद बस्याल लगायत पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छ्लफल गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले स्थानीय तहको निर्वाचनमा उल्लेख गरिएको पार्टीको घोषणापत्र अनुसार मानव अधिकार र सुशासन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरु संचालन गर्नका लागि निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने कामका विषयमा पार्टी नेतृत्वले पटकपटक निर्वाचित जनप्रतिनिधिसँग छ्लफल गरिरहेको बताउँदै कुनै स्थानीय तहमा समस्या भए पार्टीमा ध्यानाकर्षण गराउन सकिने भनाइ व्यक्त गरे।
नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले नवलपुरका स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको कामको मुल्यांकन गरिरहेको बताए । पार्टीको निति,पद्धति अनुसार काम गर्न र जनतामा एमालेप्रतिको आस्थालाई जिवन्त राख्न जनप्रतिनिधिहरुले विकास निर्माणका काममा प्राथमिकता दिन सुझाव दिएका थिए । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका सचिव मिलन धरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्नुपर्ने काम र सुशासन प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले आ आफ्नो पालिकामा मानव अधिकार र सुशासन प्रवर्द्धनका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।सो कार्यक्रमको संचालन दिपक शर्माले गरेका थिए भने एलान्सका पार्टीका इन्चार्ज भुपेन्द्र खनालले स्वागत गरेका थिए।