आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मूल्य नपाउँदा बिकेन सुठो

    प्रकाशित २०८० मंसिर २०, बुधबार (७ महिना अघि)


बुलिङटार । अदुवा खेतीको उर्वर भूमि पूर्वी नवलपरासीका किसान यतिबेला अदुवा खन्न, सुठो बनाएर बेच्न व्यस्त छन् । मुख्य नगदेबालीका रूपमा जिल्ला अदुवा उत्पादनमा आत्मनिर्भर रहे पनि अदुवाको मूल्यमा हरेक वर्ष आउने उतारचढावले किसानलाई चिन्तित बनाएको छ ।

मूल्यमा एकरूपता आउन सके मात्र पनि अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्ने बुलिङटारमा २८ वर्षदेखि अदुवा खेती गर्दै आएका प्रेमसिंह लुङ्गेली मगरले बताउनुभयो ।अदुवाको मूल्यमा आएको कमीका कारण अहिलेसम्म खासै उत्पादन अनुसार अदुवा बिक्री गर्न नसकेको किसानले गुनासो गरेका छन् । कतिपयले घरखर्च चलाउन पनि अदुवा बिक्री भने गरेका कृषक भीमबहादुर सुनारी मगरले भन्नुभयो ।

नवलपरासीपूर्व गैँडाकोट, देवचुली, मध्यबिन्दु र कावासोती नगरपालिकाका आठ वटा वडा र बुलिङटार, बौदीकाली, हुप्सेकोट, विनय त्रिवेणी गाउँपालिका अदुवाको पकेट क्षेत्रका रूपमा रहेका छन् तर अदुवाबाट बनेको सुठोको उचित मूल्य नहुँदा अदुवा कृषक मारमा परेका छन् ।गत वर्ष सुठोको मूल्य प्रतिधार्नी एक हजार रुपियाँसम्म थियो भने अहिले प्रतिधार्नी ५५० रुपियाँमा मुस्किलले बिक्री हुने गरेको बुलिङटारका अदुवा कृषक रूपबहादुर थापा मगरले बताउनुभयो ।

कावासोतीमा ३० वर्षदेखि अदुवा खरिद गरी बिक्री गर्ने व्यापारी आमबहादुर थापामगरले यो वर्ष अदुवा र सुठोको मूल्य बराबरी भएका कारण पनि सुठो बनाउन समय र श्रम बढी लाग्ने भएकाले किसानले अदुवा नै बिक्री गर्न थालेका र कतिपयले मूल्य कायम नहुँदा घरमै थन्क्याएर राख्ने गरेका बताउनुभयो । जिल्लाबाट हरेक वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा र अदुवाबाट बनेको सुठो निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गोरखापत्र अनलाइन

Write your Comment