आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना

    प्रकाशित २०८० मंसिर ६, बुधबार (५ महिना अघि)


महोत्तरी ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले `हिरासतमा पुस्तकालय´ कार्यक्रमलाई २०८० मंसिर ५ गतेबाट संचालनमा ल्याएको छ । विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव-प्रवर्तनीय कार्य `हिरासतमा पुस्तकालय´ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मंगलबारबाटै पुस्तकालयको सेवा प्रारम्भ भएको छ ।

पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् ।

पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुबै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । `यसमा पूर्णरूपमा सुधारको आवश्यकता छ´, प्रहरी प्रमुख मल्लले भने – `मानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।´

मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यस अघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा `हिरासतमा पुस्तकालय´ अभियान स्थापना गराएका छन् ।

Write your Comment