आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

काव्य परिक्रमामा नृपेशको एकल गजल वाचन

    प्रकाशित २०८० मंसिर ३, आईतबार (५ महिना अघि)


चितवन।युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गरेका हुन् ।

रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको शुरुआत उनले तरन्नुमबाट गरे :

यो प्रेमपथ हो यसमा काँडा हुनेछ हरदम
गन्तव्य पास लाग्छ, टाढा हुनेछ हरदम ।

साम्राज्य ढल्छ हरएक, एउटा समय सीमामा
राजा जो हुन्छ मनको, राजा हुनेछ हरदम ।।

उप्रेतीले कार्यक्रममा शृङ्गाररस र समसामयिक गजलहरू सुनाएका थिए । रत्ननगर, चितवन घर भएका उनी पछिल्लोसमय बेलायत बस्दै आएका छन् । विसं. २०७४ सालमा `मुसाफिर´ गजलसङ्ग्रह प्रकाशन गरेका उनका एक सय बढी गजल रेकर्ड पनि भएका छन् । केही नेपाली चलचित्रमा पनि उनका गीत समावेश छन् ।

मौसम थियो बदलियो गुनासो के गरूँ
हावाले निभ्दा दियो गुनासो के गरूँ ।

सम्बन्ध यस्तो बन्यो जस्तो पुरानो लुगा
टाल्दै गएँ च्यातियो गुनासो के गरूँ ।।

करिव दुई घण्टाको बसाइँमा नृपेशले २० वटा गजल प्रस्तुत गरे । अधिकांश गजल तरन्नुममा प्रस्तुत गरेका उनले केही गजललाई वाचन गरे । उनका हरेक शेरलाई स्रोताले ध्यानपूर्वक सुनेका थिए भने गजलमा तालीको लहर पनि उत्तिकै आएको थियो ।

थोपा हुँ पानीको म आफ्नै सफर छँदैछ
गंगा बनेर बग्ने मनमा रहर छँदैछ ।

हतियार खोज्नलाई पर्दैन भो तिमीले
मार्ने भए मलाई कातिल नजर छँदैछ ।।

प्रेमको प्राप्ति र समर्पणलाई सम्बोधन गरेर लेखेका गजल पनि उनले सुनाए । प्रणयभावका गजलले गजल सुन्न जम्मा भएको माहोल पनि मन्त्रमुग्ध बनेको थियो ।

कार्यक्रममा बोल्दै गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले नृपेश उप्रेती गजलका क्षेत्रमा स्थापित नाम भएको बताए । `नृप्रेशजीले राम्रा गजल लेख्नुहुन्छ, चितवनको गजल गतिविधिमा उहाँको योगदान प्रशंसनीय छ ।´, सापकोटाले भने । रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले गजलकार उप्रेतीले गजल लेखेरै आफूलाई स्थापित गरेको बताए । कार्यक्रमलाई काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले सहजीकरण गरेका थिए ।

Write your Comment