आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

कवि प्रकाश चापागाईंको `कमिलाको प्वाँख´ लोकार्पण

    प्रकाशित २०८० कार्तिक २५, शनिबार (५ महिना अघि)


भरतपुर।कवि प्रकाश चापागाईंको कवितासङ्ग्रह `कमिलाको प्वाँख´ लोकार्पण गरिएको छ ।स्मार्ट ब्याङ्क्वेट भरतपुर-१२ मा शनिबार आयोजित समारोहमा कार्यक्रमका अध्यक्ष गोविन्दराज विनोदी, प्रमुख अतिथि भुवनहरि सिग्देल, समीक्षक डाक्टर एकनारायण पौड्याल, डाक्टर केशवराज चालिसे, कवि चापागाईंकी धर्मपत्नी सुजाताले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

सङ्ग्रहमाथि टिप्पणी राख्दै समालोचक डाक्टर केशवराज चालिसेले कवि चापागाईंका कवितामा विविधता भएको बताए । `सङ्ग्रहमा सबैखाले कविताहरू समावेश भएका छन्´, कवि चापागाईंले भने – `विविधखाले कविता भए पनि समग्रमा राजनीतिक अकर्मण्यतालाई सम्बोधन गरिएको छ । कविताहरू विचारोत्तेजक छन्, कविताहरूमा चेतना छ ।´चालिसेले सङ्ग्रहका कविताहरू प्रकाशमय भएको बताए । प्रकाशका कविताहरू समाज र राजनीतिसँग जोडिएर आएको पनि उनले बताए ।

अर्का समालोचक डाक्टर एकनारायण पौड्यालले कवि चापागाईं चेतनशील, अध्ययनशील र प्रतीभाशाली कवि भएको बताए । कविताभित्र जोडिएका रस, अलंकारले कविताहरू कविताजस्तै भएको पनि उनले बताए । चापागाईंका कविताको गति र यति मिलेको पौड्यालले बताए ।

शुभकामना मन्तव्यका क्रममा बाम बुद्धिजीवी प्रेम रिमालले कवि प्रकाश चापागाईं कविताको गाउँ गीतानगरमा हुर्किएका कवि भएको बताए । गीतानगरका चापागाईंहरूको साधना र सिर्जनाले उक्त ठाउँ कविताको गाउँका रूपमा मान्न सकिने रिमालले बताए । कार्यक्रममा लेखराम सापकोटा, राजेन्द्र घायल, एलबी क्षेत्री, उदय अधिकारी, सरिता तिवारी, डाक्टर धनेश्वर भट्टराई, रमाकान्त सापकोटा, कपिलमणि रेग्मी, डाक्टर नारायणप्रसाद खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए।

सामाजिक एवम् राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू सङ्ग्रहमा राखिएको कवि चापागाईंले बताए । `विशेषगरी माओवादी युद्धदेखि अहिलेसम्मका सन्दर्भलाई कवितामार्फत उतार्ने कोसिस गरेको छु´, उनले भने – `सामाजिक विकृति विसङ्गति, राष्ट्रप्रेम र राजनीतिका नाउँमा खेलिने फोहोरी खेल प्रतिको खबरदारी र भुइँ मान्छेका आवाजहरू मेरा कविताका स्वरहरू हुन् ।´

पेज टर्नर प्रालिले प्रकाशन गरेको कृतिको मूल्य ३००/- रुपैयाँ छ । २०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक (२०४०), `आँखाभरि´ शोककाव्य (२०६७),`बुलेट नम्बर पाँच´ खण्डकाव्य (२०७०) `आरोहण´ महाकाव्य संयुक्त लेखन (२०७४) र `मगुई´ खण्डकाव्य (२०७७) पुस्तक प्रकाशित छन् । कार्यक्रमलाई कवि विपिन पाठकले सहजीकरण गरेका थिए ।

Write your Comment