आज:  २०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024 Search
FLASH NEWS

नवलपुरका मुसहर समुदाय माछा मारेर जीविकोपार्जन गर्न छाडे

    प्रकाशित २०८० आश्विन २९, सोमबार (९ महिना अघि)


नवलपुर। कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्छन्। “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ। तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ। जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ”, उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकैको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन्। उनले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्छन्। कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गरेका छन्।“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ,” उनले भने, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु। व्यापार त गर्नै पर्छ, कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु।”

पुर्ख्यौली पेसामा संकट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीय रमिया मुसहरले बताइन्। “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो। नदीमा माछा पाइन छाड्यो”, उनले भनिन्, “निकुञ्जको निगरानी पनि बढ्दै गयो। गैँडा, बाघलगायत जंगली जनावरको जोखिम भएकाले मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ।”पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएका स्थानीय धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेतीकिसानीले परिवारमा केही खुशियाली थपिएको बताए। उनका अनुसार केही मुसहर परिवारले बस्ती छेवैको खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन्।माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीयवासी सन्तबहादुर माझीले बताए ।

“माझी, मुसहर र बोटे समुदायका मानिसहरू अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारी र कतिपय सिकर्मीरडकर्मी पेसातर्फ उन्मुख भएका छन्,” उनले भने, “पहिले–पहिले तराई क्षेत्रमा आबादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन्।”नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ । रासस

Write your Comment