आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

देवचुलीको दिगो विकासको आधारः पर्यटन

    प्रकाशित २०८० आश्विन २४, बुधबार (६ महिना अघि)


दिपक शर्मा । नेपालमा संघीयताको स्थापना पश्चात राज्यको पुर्नसंरचना बहस जोडतोडले उठयो । विकासको नयाँँ आयामको लागि स्थानीय निकायहरु एक आपसमा मर्ज गरी गाँउ विकास समितिहरुबाट नगरपालिका बनाउने अभियान सुरु भयो ।यही क्रममा वि.स. २०७१ बैशाख २५ गतेका दिन साविकका ३ गाविसहरु प्रगतिनगर, देवचुली र दिव्यपुरी मिलेर देवचुली नगरपालिकाको रुपमा स्थापना भएको हो । संविधान २०७२ जारी पश्चातको राज्य पुर्नसंरचना पश्चात रजहर गाविस समेत मिलेर २०७३ फागुन २७ गते नेपाल सरकारको निर्णय अनुसार देवचुली नगरपालिकाको रुपमा स्थापना भएको हो ।देवचुली नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग किमी रहेको छ । यसको चार दिशामा पूर्वमा गैडाकोट नगरपालिकाको झरही खोलाले, पश्चिममा कावासोती नगरपालिकाको लोकाहा खोलाले, दक्षिणमा पवित्र नदी नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्जको काख र उत्तरमा नवलपुरको अग्लो डाँडा देवचुलीले बिभाजन गरेको छ ।

यो लेखमा देवचुलीको दिगो विकासको आधारलाई मध्यनजर गरी यो क्षेत्रको पर्यटनको विकास नै दिगो विकासको आधार किन हो र कसरी गर्न सकीन्छ भनी तयार गरिएको छ । यस क्षेत्रमा रहेका अहिलेका पर्यटकीय स्थलहरु र सो स्थलमा पर्यटकीय क्रियाकलापको विकास गर्न सकीने कार्यहरुको बारेमा तयार गर्ने जमर्को गरिएको छ ।

वाईल्डलाईफ पर्यटन र देवचुली :

देवचुलीलाई देशको नयाँ पर्यटकीय गन्तव्य गराउनको पहिलो पर्यटल भनेको नै यसको दक्षिण भेगमा रहेको मध्यवर्ती क्षेत्र, सो भित्रका सामुदायिक बनहरु, नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज नै हो । हाल नेपालमा आउने धेरै पर्यटकहरुको पहिलो रोजाई भनेको नै एक सिँगै गैँडा, पाटेबाघ, चराहरु, घडीयाल गोही र अन्य जंगली जनावरहरुको दृश्यावोलकन र नजिकैबाट आफ्नै क्यामेरा र मोवाईलबाट फोटो र भिडियो नै हो । जंगली जनावरहरुसँगको साक्षात्कर र राष्ट्रिय निकुञ्जको अनुभव गर्न सजिलो र नयाँ गन्तव्यको रुपमा यस क्षेत्रलाई विकास गर्ने हो भने धेरै पर्यटकहरु यहाँ आउने र कम्तीमा पनि ३ रात ४ दिनको सजिलो प्याकेजको रुपमा गर्न सकीने संभावना रहेको छ ।

देवचुली नगरपालिका नेपालको मध्यभागमा रहेको स्थान, पूर्व पश्चिम राजमार्गले समग्र नगरलाई बिचबाट तल माथि पारेको क्षेत्र र गण्डकी प्रदेशको मुख्य नाका रहेको चिनको कोरोला र सुनौली एवम त्रिवेणी नाका बाट पहिलो गन्तव्य रहनु यो नगरको लागि मानिसहरुलाई यहाँ ल्याउनको लागि सजिलो ठाँउ हुन सक्दछ ।यस नगरको क्षेत्रमा पर्ने मध्यवर्ती भित्र रहेको ७ सामुदायिक बनहरुमा प्रशस्त मात्रामा देखापर्ने एकसिँगै गैडा, मृग, हरिण, चरा र घडियाल गोहीको साथमा राष्ट्रिय निकुन्जलाई दायाँ बाँया पारी डुँगामा नौकाविहार गर्न पाईने अवसर देवचुलीमा पर्यटक ल्याउन सकीने र बसाई लम्बाउन सकीने मुख्य आधार हुन ।

पर्यटकहरु बसाईमा आवश्यक पर्ने बासको लागि यहाँ सामुदायिक होमस्टे मगर, थारु, बोटे र गुरुँग जातीहरुबाट रहेकोले एकै स्थानबाट धेरै जातजातीका भेषभुषा, रहनसहन हेर्न, सिक्न र अवलोकन गर्न सकीने छ । सस्तो देखी महँगो सम्मका होटलहरु समेत यहाँ रहनु र नयाँ निर्माण सुरु गरिनुले सामान्य देखी अली खर्चालु पर्यटकहरुको लागि राम्रो र नयाँ गन्तव्य हुन सक्दछ ।

प्राकृतिक उपचारसँगै सामुदायिक पर्यापर्यटनको आधार : रजहर प्राकृतिक सामुदायिक अस्पताल

अहिले विश्वमा धेरै प्रकारका पर्यटकीय क्रियाकलापहरु विश्वको धेरै देशहरुमा अभ्यास रहेको छ । यो मध्येको महत्वपूर्ण र नेपालमा हामीले सुरु गर्न नसकेको क्षेत्र भनेको हेल्थ पर्यटन हो । मानिसहरु अहिले आधुनिक चिकित्सा विधीबाट ठिक हुन नसकेर र भागदौड र व्यस्तताबाट हुन सक्ने विभिन्न रोगहरुको न्युनिकरणको लागि शान्त, हरियाली क्षेत्र भएको स्थान, फोहोरमैला र व्यक्तिहरुको भिड भन्दा छुटै खालका स्थानहरुमा मानिसहरुले आफ्नो दैनिक व्यवहार, खानपान, समय तालिकाहरुको व्यवस्थापन गर्न खोजेका छन् ।यसको महत्वपूर्ण गन्तव्यको रुपमा यस नगरमा रहेको रजहर प्राकृतिक सामुदायिक अस्पताललाई प्रचार प्रसार र सोही अनुसारको प्याकेज गराएर अगाडी लैजाने हो भने विश्वका र नेपाल भित्रका पनि धेरै नै महँगा र बढी खर्च गर्न सक्नेहरुलाई देवचुलीमा राख्न सकीने छ ।

यसको लागि नगरले अस्पतालसँग समन्वय गरी देशभित्रका ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय कार्यालयहरुमा अनुरोध पत्र सहीतको प्योकज घोषणा गर्ने हो भने यो राम्रो र धेरै दिनको प्याकेजको रुपमा लैजान सकीन्छ । यहाँ व्यक्तिले आफ्नो स्वास्थ्य उपचार पनि प्राकृतिक विधीबाट गर्न सक्ने, आवश्यकता अनुसार जंगल सफारी र अन्य पर्यटकीय क्रियाकलापहरु पनि गर्न सकीने र विभिन्न जातजातीका कला, संस्कृति र रहनसहन सिक्न र अध्ययन गर्न सक्दछन् भने व्यक्तिको मुख्य स्वास्थ्यलाभ गरेर जान सक्नेछन् ।

ट्रेकीँगको साथमा साहसिक खेल र हिमालयको दृश्यावकोलकन : देवचुली डाँडा र पहाडी क्षेत्र

विश्वमा अहिले पर्यटकीय क्रियाकलापलाई साहसिक खेल, ट्रेकीँग र नजिकैबाट हिमालको दृश्यहरु हेर्नको लागि र महसुस गर्ने गरी तयारी गरिएको छ ।देवचुलीमा नगरको नाम रहेको देवचुली डाँडा नवलपुरको सवैभन्दा उच्च पहाडी विन्दु हो । यसको उचाई १९३६ मिटर रहेको छ । यस डाँडाबाट उत्तरतर्फ हिमालहरु र दक्षिणतर्फ तराईको समथर जमिन र नारायणी देखी नवलपुर र चितवनका विभिन्न भुभागहरु समेत देखीने गर्दछ । यो उच्च शिरसँग यस क्षेत्रको आदिवासीहरु थारु समुदाय र मगरहरुको सम्बन्धले समेत अझै महत्वपूर्ण र सुन्न लायक बनाउन सकीन्छ ।

अहिले जातिय भेदभाव र असहहिंष्णु बाताबरण बन्न खोजेको अवस्थामा नयाँ पुस्तालाई र अन्य स्वदेशी र बिदेशीलाई यो सन्देश तयार गरेर दिन सकीने हो भने राम्रो हुने थियो । यसको लागि नगरपालिकाले खासमा यसको महत्व के रहेको छ ? कसरी यसको सम्बन्ध स्थापना भयो ? भन्ने खालका खोजहरु अध्ययन गरी नेपाली, अग्रेजी र उनीहरुको भाषामा नै तयार गरी स्थानीय पाठ्यक्रम र अन्य ठाँउहरुमा आदानप्रदान गर्दा राम्रो नै हुने थियो ।आजकल धेरै जसो किशोरकिशोरीहरु, युवाहरु र स्वदेशी र विदेशीहरु ट्रेकीँगमा जाने प्रचलन बढेको छ । १ रात २ दिनसम्मको क्षेत्रहरुमा मानिसहरुको रुची बढ्दै गएको छ । धेरै टाढा पनि जानु नपर्ने र सवै सेवा सुविधासम्पन्न स्थानहरुमा व्यक्तिको रुची बढेको छ ।

यो डाँडामा सिजनमा लालिगुरास फुल्ने र सधै जसो चिसो महसुस गर्दै हिमालहरु हेर्न सकीन्छ । यो क्षेत्रमा साहसिक खेलहरु साईक्लिँग र मोटरसाईक्लिँगको अवधारणा ल्याउन सक्ने हो भने पूर्व पश्चिम राजमार्गबाट नजिक रहेकोले मानिसहरुले १ रात २ दिनको प्याकेज गराएर आउन सक्ने संभावना छ । यसको लागि देवचुलीको कुमसोत, किर्तीपुर, बाह्रकोल र बेलस्वाराबाट हिड्न सकीने रुटहरुको तयारी, सो स्थानमा होमस्टेहरुको निर्माण र प्रचारप्रसार र नक्साँकन सहीत गैडाकोटको मौलाकालिका मन्दिर सम्म देवचुली डाँडाबाट पदमार्ग रुट गराउन सकीने हो भने धार्मीक पर्यटनसँग पनि जोड्न सकीनेछ ।

धार्मीक पर्यटनसँगै अन्य पर्यटकीय क्रियाकलापमा सिजी शास्वत धामः

नेपालका  पछिल्ला नयाँ गन्तव्यको सुचीमा परि निकै नै छिटो प्रचारप्रसार भएको र धेरै मानिसहरुले अवलोकन गरेको स्थान सिजी शास्वत धाम पनि एक हो ।यहाँ आएका अधिकाँश पर्यटकहरुले सोही स्थानको अवलोकन पश्चात अन्य गन्तव्यमा नगएका कारण त्यहाँ आएका लाखौ पर्यटकहरुबाट खास फाईदा नगरले लिन सकेको छैन । यहाँ आएका पर्यटकहरुलाई यस लेखको माथि उल्लेख गरिएका क्रियाकलापहरुमा जोड्नको लागि स्पष्ट योजना यस क्षेत्रका पर्यटनकर्मीहरु, होटल व्यवसायीहरु र नगरपालिकाले समेत गराउनु आवश्यक छ ।

सिजी शास्वत धामले सवै धर्मलाई समान रुपमा सम्मान गरेको कारणले गर्दा धार्मिक विश्वास भएकाहरु, फोटो र टिकटकको लागि आएका व्यक्तिहरु र यो बाटो भएर पूर्व पश्चिम यात्रा गर्नेहरु लक्षित गरी प्याकेजहरु आधा दिन, १ दिन, २ दिन र १ रातसम्मको प्याकेज निर्माण गर्न सकीन्छ ।सिजि भित्र रहेको गल्फ मैदान पनि अर्को महत्वपूर्ण पर्यटकीय क्रियाकलाप हुन सक्दछ । गल्फ भन्ने वित्तिकै अलि संम्भ्रात वर्गले खेल्ने भन्ने रहेकोले यो मैदानको पनि प्रयोग गरि कम्तीमा पनि वर्षमा १ पटक राष्ट्रिय स्तर र प्रदेशस्तरको खेल सञ्चालनको लागि नगरपालिकाले पहल गर्ने र यसको लागि प्रदेश सरकार, खेलकुद परिषद, संघीय सरकार र स्वयम चौधरी ग्रामलाई समेत अनुरोध गर्न सकीन्छ ।सो खेल खेल्न आएका व्यक्तिहरु कम्तीमा पनि यही बस्ने र यहाँका माथि रहेका पर्यटकीय क्रियाकलापहरुमा आबद्ध हुने रणनीति निर्माण गर्न सकीय यो संभव रहेको छ । यसको लागि नगरले नीजि क्षेत्रको पनि साथ लिने गरी कार्यक्रमहरुको तयारी गर्न सकीय प्रभावकारी र दिगो रहने छ ।

अव तत्कालै नगरपालिकाले पर्यटकीय विकासका लागि गर्न सकीने कार्यहरु

१. देवचुली भ्रमण वर्ष २०२४ को घोषणा गरी कम्तीमा पनि २०२४ को वर्षभरीमा १० हजार व्यक्तिलाई १ रात देवचुलीमा बसाउने योजना, कम्तीमा पनि ५ हजार व्यक्तिले २ दिन १ रात देवचुलीमा बस्ने र कम्तीमा पनि २ हजार व्यक्तिले १० दिन भन्दा बढी यहाँ बसेर यि क्रियाकलापहरु गर्ने कार्यक्रमको योजना निर्माण गर्नुपर्ने देखीन्छ । यो गर्दा यहाँका होमस्टेहरु, होटलहरु र अन्य क्षेत्रको विकास पनि सोही अनुसार पर्यटनमैत्री व्यवहार र क्रियाकलाप जानेको गराउन क्षमता अभिबृद्धी र अध्ययन अवलोकन गराएर तयारी अवस्थामा राख्ने

२. देवचुलीका संभावनाहरुको भिडियो, अडियो, पत्रपत्रिका, रेडियो, ठुला अनलाईन र टिभीमा प्रचारप्रसारको योजना निर्माण गर्ने र संभव भएसम्म खेलाडीहरु, कलाकारहरु, राजनीतिक दलका प्र्रमुखहरु, उद्योगपतिहरु र अन्य सम्मानीत व्यक्तिहरुलाई पर्यटन दुतको रुपमा घोषणा गरी उहाँहरुसँगको साझेदारीमा कार्यहरु गर्ने ।

३. देशका मुख्य मुख्य स्थानहरुमा, शहरहरुमा, राजमार्गहरुमा यहाँका पर्यटकीय संभावनाहरु देखीने होडिँग बोर्डहरु तयारी गर्ने, नगरको आफनो वेभसाईटमा यसको जानकारीहरुको कोलम तयार गर्ने वा छुटै तयार गरी व्यापकरुपमा प्रचार प्रसार गर्ने । विशेष खालका पर्वहरुमा महोत्सव र अन्य क्रियाकलापहरु नीजिक्षेत्रको साझेदारीमा सञ्चालन गर्ने र सो कार्यमा स्थानीयलाई बढी सहभागिता गराउन सहुलियत र स्पष्ट नीतिको निर्माण गर्ने ।

४. देशभरीका ७५३ सरकारका जनप्रतिनिधीहरु, प्रदेश, संघीय तहका जनप्रतिनिधीहरु, सरकारी कर्मचारीहरु, उद्योगपतीहरु, नीजि संघसंस्थामा काम गर्ने व्यक्तिहरु, संस्थाहरु र नगर भित्रका जनताहरुले पनि वर्षमा १ पटक यि पर्यटकीय क्रियाकलापहरु गर्ने र अनुभव आदानप्रदान गर्नको लागि उत्पेरीत गर्ने खालका कार्यक्रमहरुको तयारी गर्ने ।

५. देवचुलीको झल्को झल्कने खालका घरमा नै तयार गर्न सकीने मायाको चिनोहरु, उपहारहरु र अन्य संभावनाको खोजी गरी नगरपालिकाले देशभर नै व्यापारीक क्रियाकलापको लागि सहयोग गर्ने ।

(लेखक जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव हुन ।)

Write your Comment