आज:  २०८१ आश्विन १८, शुक्रबार | Fri, 04, Oct, 2024 Search
FLASH NEWS

स्थानीय तहका कर्मचारीले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै

    प्रकाशित २०८० आश्विन १९, शुक्रबार (१२ महिना अघि)


नवलपुर । स्थानीय तहका कर्मचारीहरूले आजदेखि आन्दोलनलाई सशक्त बनाएका छन् ।उनीहरुले ७ सय ५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेका हुन् । ६ दिनदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

संसदमा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्टी जनाउँदै स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दै,अनिश्चितकालका लागि पेन डाउन गर्ने निर्णय भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका आफूहरुको माग रहेको संघर्ष समितिले जनाएको छ। स्थानीय तह कर्मचारीहरू ऐन विहीन हुँदा विभिन्न समस्या आएको र त्यसको नकारात्मक असर परेको भन्दै संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग रहेको छ ।

संघर्ष समितिले बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने लगायतमा माग समेत अघि सारेका छन् ।

Write your Comment