आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित

    प्रकाशित २०८० आश्विन १६, मंगलबार (१ साल अघि)


नवलपुर । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् ।संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु भएको हो ।

आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन संघर्ष समितिको सर्कुलर अनुसार देवचुली नगरपालिकाका स्थानीय तहका कर्मचारीहरु कार्यवाहक नगरप्रमुख गिरबहादुर थापा क्षेत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । देवचुलीका स्थानीय तहका कर्मचारीहरुले मंगलबार कालोपट्टी बाँधेर सेवा प्रवाह गरेका छन् । आज देवचुली सहित देशभरका स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने र कालोपट्टी बाँधेर सेवा प्रवाह गरिने कार्यक्रम रहेको छ। संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक दीपक गौतमले बताए ।उनले स्थानीय तह कर्मचारीहरू ऐन विहीन हुँदा विभिन्न समस्या आएको र त्यसको नकारात्मक असर परेको भन्दै संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने बताए ।

संघर्ष समितिले बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने लगायतमा माग समेत अघि सारेका छन् ।

Write your Comment