आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

विवेकको ‘ऐँठन’लाई मदन र टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार

    प्रकाशित २०८० आश्विन १४, आईतबार (१ साल अघि)


काठमाडौँ।माओवादी जनयुद्धको पृष्ठभूमिमा लेखिएको ‘ऐँठन’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको आइतबार बसेको बैठकले गत साल प्रकाशित भएर गुठीमा दर्ता हुन आएका किताबमध्ये विवेक ओझाद्वारा लिखित उपन्यास ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् ।

`२०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित ऐँठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गरेकाे हाे ।´, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गुठीले यो सालको जगदम्बा श्री भने कभर डिजाइनर टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरेको छ ।

विसं २०७९ सालमा दर्ता हुन आएका किताबमध्येबाट गुठीले उत्कृष्ट ५ पुस्तकको अन्तिम सूची प्रकाशन गरेको थियो । जसमा ‘ऐंठन’ ‘इजोरिया’, ‘चक्रव्युहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाका घर’ थिए । अन्तिम पाँचको सूची प्रकाशित गर्दै गुठीले अघिल्लो साल मदन पुरस्कारका लागि गुठीलाई कूल ३१३ पुस्तकहरू प्राप्त भएका बताएको थियो । विजेता दुबै जनाले जनही ४ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

विसं. २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकाे सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक श्री नारायण गोपाललाई अर्पण गरिएको थियो ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.स. २०१३ मा गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री अर्पण गरिन्छ ।

Write your Comment