आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नापी सुरु

    प्रकाशित २०८० भाद्र ३१, आईतबार (१० महिना अघि)


देवचुली।देवचुली नगरपालिका १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नाप सुरु गरिएको छ। भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि शनिबार नापी सुरु गरिएको हो। देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उप प्रमुख पार्वता तिवारी र राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापती खरेलले संयुक्त रुपमा जग्गा नापीको उदघाटन गर्नुभएको हो।


जग्गा नापीकाे उद्वघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले भूमिकाे समस्या समाधान गर्न पालिका सधैं जनताको पक्षमा रहने बताउनुभयो । आफुहरुको पहिलो एजेन्डा नै सुकुम्बासी समस्या समाधान गर्ने रहेकाले कार्यपालिकाको टिम एकरुपता भइ काम गरिरहेको उहाँले बताउनुभयो ।पालिकामा जग्गाका विविध खालका जग्गा समस्या रहेको र त्यसकाे समाधानका लागि आयाेगकाे मापदण्डअनुसार पालिका लाग्ने बताउनुभयो ।भूमिकाे समस्या समाधान गर्दै भूमिहीनलाई पुर्जाकाे मालिक बनाउने काममा सबैकाे सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुकुम्बासी ,भूमिहीन ,अव्यवस्थित बसाेबासीकाे समस्या समाधान एक पटकका लागि गर्ने याेजना छ, यसैलाई आधारमानी सबै वडामा जतिसक्दो चाँडै नापीकाे काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्ण रुपमा सहजिकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।देवचुली ४ बाट सुरु गरिएको नापी वडा ५,६ हुँदै १६ र १७ मा सुरु गरिएको र बाँकी वडामा पनि छिट्टै सुरु गरिने उहाँले बताउनुभयो । जग्गा नापका लागि आवश्यक जनशक्ति पालिकाले थप गरेको उहाँको भनाइ छ। जग्गा नाप जाँच गर्दा पछिसम्म वडामा फरक नपर्ने गरि नक्सा कायम गर्न नापी टोलीलाई उहाँले आग्रह गर्नुभएको थियो।

कार्यक्रममा बाेल्दै आयोग जिल्ला अध्यक्ष खरेलले एक चरणकाे काम तथ्यांक संकलन ,प्रविष्टिकरण सकिएको र अब प्रमाणीकरणको लागि जग्गा नाप जाँचकाे काम सुरु भएको बताउनुभयो। नापजाँच गर्ने क्रममा केहि समस्या परे सहजिकरण समितिबाट हल गर्ने र यहाँ हुन नसके पालिका ,जिल्लाबाट समस्या समाधान गरि पुर्जा वितरणकाे काम सम्पन्न गरि भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । विधि,प्रक्रिया मिलाउन समय लाग्ने भएकाले धैर्य गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको थियो।देवचुली नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि आयोगलाई निकै सहयोग गरेको उहाँले बताउनुभयो । राष्ट्रिय भूमी आयोगले छुटेका भुमिहीनहरुका समस्याहरुका लागि अन्तिम पटक आवेदन माग गरेकाले सम्बन्धितले वडा मार्फत आयोगमा निवेदन दिन सकिने उहाँले जानकारी समेत गराउनुभयो।

देवचुली १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेले कयौं पुस्ता भूमिहिनकै रुपमा रहेकोले अब ती समस्या समाधान गर्न लागिएको बताउनुभयो । वडामा ६५० जना भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिका लागि आवेदन दिएको उहाँले बताउनुभयो । नापीकाे काममा देखिने हरेक समस्या समाधान गर्दै नापीकाे काम सक्न सबैकाे सहयाेगकाे आवश्यकता रहेको उहाँले बताउनुभयो । वडाले सबै सहजिकरण गर्ने तर पुर्जा दिनेकाममा कुनै बिलम्ब हुन नहुने र आयाेगले साेहि अनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

लामो समयसम्म सुकुम्बासी भएर बस्न बाध्य भएको र अब लालपुर्जा प्राप्त गर्नेमा आश पलाएको देवचुली १७ का स्थानीय टिकाराम काफ्लेले बताउनुभयो । लालपुर्जा प्राप्त नगर्दा सम्म सरोकारवालालाई निरन्तर खबरदारी गर्ने र आवश्यक कामका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।

देवचुली १६ मा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतमको अध्यक्षतामा भएको थियो भने देवचुली १७ बरटाँडीमा भएको कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेको अध्यक्षता रहेको थियो। उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।

 

Write your Comment