आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

सिजपको सहजीकरणमा बाल अधिकार सम्बन्धी संसदीय समूह गठन

    प्रकाशित २०८० भाद्र ३०, शनिबार (७ महिना अघि)


काठमाडौं।“बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शुक्रबार देशभर विविध कार्यक्रम गरी मनाइएको ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच ९ सदस्यीय बाल अधिकार सम्बन्धी संसदीय समूह गठन भएको छ।समूहका सदस्यहरुमा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सदस्य चन्दा चौधरी, शान्ति श्रेष्ठ, कल्पना मियाँ, सीता राना, लक्ष्मी तिवारी, कानून, न्याय तथा मानव अधिकार समितिका रञ्जु कुमारी झा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ईश्वरी जिएम, विनिता कुमारी सिंह र पूर्वाधार विकास समितिका सदस्य बिना लामा रहनु भएको छ।समूहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि तर्जुमा गरी अघि बढ्ने विषयमा सहमति भएको छ।


सिजपका अध्यक्ष मीना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा अन्तर्गतका विभिन्न समितिका सदस्यहरु, सिजपका पदाधिकारी एवम् सेभ द चिल्ड्रेनको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।कार्यक्रममा सिजपका महासचिव तिलोत्तम पौडेलले बाल अधिकार सम्बन्धी संसदीय समूह गठनका लागि सिजपको प्रयासका विषयमा स्पष्ट पार्नु भएको थियो।संसदीय समूहको औचित्यता तथा आगामी कार्यादेशका विषयमा संसदीय समितिहरुसँगको चरणबद्द रुपमा भएको छलफल एवम् परामर्शको परिणाम स्वरुप यो स्थितिमा आउन सफल भएको बताउनु भयो।कार्यक्रममा सिजपका कार्यकारी निर्देशक आत्माराम थापाले नेपालमा बाल अधिकार अभियानको संक्षिप्त परिचयका साथै बाल अधिकारसँग सम्बन्धित नीतिगत सवाल, कार्यक्रमिक सवाल एवम् अनुगमनात्मक सवाल एवम् ती सवाल सम्बोधनका लागि सांसदको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने सिजपका निवर्तमान अध्यक्ष राजेश शर्माले बाल अधिकार सम्बन्धी संसदीय समूहको ऐतिहासिकता, औचित्यता एवम् आगामी कार्यादेशका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो।कार्यक्रममा उपस्थित माननीय सदस्यहरुले बाल अधिकार सम्बन्धी संसदीय समूह आजको आवश्यकता हो भन्नेमा विषयमा धारणा राख्नु हुँदै यस समूहको दीगोपनाका लागि शुभकामना समेत व्यक्त गर्नुभयो।कार्यक्रमका अध्यक्ष एवम् सिजपका अध्यक्ष मीना शर्माले नेपालमा बाल अधिकारको सम्मान, संरक्षण तथा सम्बर्धनका लागि बाल अधिकार सम्बन्धी संसदीय समूहको भूमिका प्रभावकारी हुने धारणा राख्नुहुँदै संसदीय समूहको दीगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि सिजप प्रतिबद्द रहेको समेत जिकीर गर्नुभयो।कार्यक्रम सेभ द चिल्ड्रेनको सहकार्यमा सम्पन्न भएको थियो।

Write your Comment