आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

पर्यटकीय क्षेत्र कावासाेतीकाे पोखरी तालमा पूर्वाधार विकास गरिँदै

    प्रकाशित २०८० भाद्र २४, आईतबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती-१, मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको कावासोती नगरपालिका वडा नम्बर-१, का वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।

पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ । त्यसकारण हालै कावासोती नगरपालिकाले रु. ३ करोड ५ लाख २७ हजारको लागतमा विभिन्न संरचनाहरू निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाले बताउनुभयो ।

तालमा पानी टिकाउन समस्या भएसँगै पहिलो चरणमा अहिले तालको भित्री भागमा एक हजार ३ सय मिटर लम्बाइको वरपर ढुङ्गाको पर्खाल लगाउन सुरु गरिएको छ । तालको ढिकसँगै जोडेर ६ दशमलब ५ मिटर उचाइको पर्खाल बनाउन लागिएको वडा अध्यक्ष मियाले बताउनुभयो । यसले तालमा पानी लामो समयसम्म टिकाउ सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरी तालको वरपर करिब ७ सय मिटर लम्बाइको पैदल मार्ग निर्माणको काम समेत सुरु गरिएको वडा अध्यक्ष मियाले बताउनुभयो । तालको वरपर प्रतिक्षालयहरु निर्माण गर्ने साथै दुई ठाउँमा ढुङ्गाको लागि स्टेसन निर्माण गरिने उहाँले बताउनुभयो । यि संरचना निर्माणले ताल क्षेत्रको आकर्षण थप बढ्ने वडा अध्यक्ष मियाले बताउनुभयो ।

पोखरी ताल क्षेत्र ताल रहने क्षेत्र र पार्क गरि कुल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वरपर विभिन्न वनस्पति रोपिएको छ । साथै गैँडा, बाघ, फोटो खिच्ने स्थान सहित विभिन्न संरचना निर्माण गरिएको छ । हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने अध्यक्ष मियाले बताउनुभयो । ‘ताल क्षेत्र प्राकृतिक रुपमा आफैमा रमाइलो स्थानमा रहेको छ, थप पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा छ’ अध्यक्ष मियाले भन्नुभयो ।

पूर्व पश्चिम राजमार्ग देखि करिब ६ किलोमिटरको दूरीमा रहेको पोखरी ताललाई केन्द्रित गरि सहज पहुँचका लागि सडकको स्तरोन्नतिको काम समेत सँगै बढाइएको छ । कावासोती –१, र ६ को सिमानामा पर्ने हरियाली चोक देखि स्लाम चोक हुँदै कोइलापानीसम्म २ दशमलव ७ किलोमिटर सडक कालोपत्रेको काम समेत अघि बढाइएको वडा अध्यक्ष मियाले बताउनुभयो ।

नगर भित्र पर्यटन क्षेत्रको विकास , सडक, नाला सहितका पूर्वाधारको विकास , मानव वन्यजन्तु द्धन्द न्यूनिकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्रको विकास सहित विभिन्न योजना सञ्चालन गर्ने गरि रु. ५६ करोड बराबरका योजना सम्झौता भएर काम अघि बढेको नगर प्रमुख भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्र आफैमा पालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले समेत यसलाई समेत प्राथमिकतामा राखेर काम सुरु गरिएको उहाँले बताउनुभयो ।

Write your Comment