आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

देवचुलीका २ जनामा जापानिज इन्सेफ्लाइटिस

    प्रकाशित २०८० भाद्र २१, बिहिबार (१ साल अघि)


देवचुली ।देवचुली नगरपालिकामा थप एक जनालाई जापानिज इन्सेफ्लाइटिस देखिएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार देवचुली ९ का ५० वर्षीया महिलालाई जापानिज इन्सेफ्लाइटिस भएको हो । बिरामी भएर भदौ ६ गते भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा भर्ना गरि भदौ १६ गते डिस्चार्ज भएकी बिरामी अहिले घरमै आराम गरिरहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

हालसम्म देवचुली नगरपालिकामा २ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको स्वास्थ्य शाखाले जनाएको छ । देवचुलीमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका अर्का एक जनाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । देवचुली १७ की १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको उनको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए ।

देवचुलीमा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिन थालेपछी स्वास्थ्य शाखाले विद्यालयमा सचेतना कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले नगर भित्रका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई डेङ्गी तथा जापानिज इन्सेफ्लाइटिस सम्बन्धि सचेतना गरि टोल टोलमा सरसफाइका कार्यक्रम निरन्तर भइरहेको बताए ।

जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो ।जापानिज इन्सेफ्लाइटिस रोग लागेका बिरामीमा उच्च ज्वरो आउने , धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काँप्ने जस्ता लक्षण देखिन्छन् ।

Write your Comment