आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

झोलारहित शुक्रबारमा प्रगतिनगर खानेपानीको साथ

    प्रकाशित २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाद्वारा सेवा क्षेत्रका विद्यालयहरुमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिमको सुरुवात गरिएको छ। झोलारहित शुक्रबार अभियानलाई साथ दिनका लागि देवचुली १० मा रहेको नव नेपाल आधारभूत विद्यालयबाट तालिमको सुरुवात गरिएको हो।

विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन र झोलारहित शुक्रबार अन्तर्गत सेवा क्षेत्रका विद्यालयमा अभियानकै रूपमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिम सुरुवात गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । विद्यार्थीहरुलाई पढाईसँगै सीपमूलक शिक्षा सिकाउन आवश्यक रहेको र संस्थाले नव नेपाल आधारभूत विद्यालयले सुरु गरेको “शुक्रबार सीपका लागि” अभियानमा आधारभूत प्लम्बिङ तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

नव नेपाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराईको अध्यक्षता भएको तालिमको शुभारम्भ कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गादेवी बिष्ट,लेखा संयोजक रत्ना भुसाल, ब्लक ४ सदस्य दिना पराजुली,कार्यालय प्रमुख इश्वरबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो।

विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाईसँगै प्लम्बिङको आधारभूत सीप सिकाउन कार्यक्रमको सुरु गरिएको संस्थाको उपाध्यक्ष दुर्गादेवी बिष्टले बताउनुभयो ।विद्यार्थीहरुलाई फिल्डमा नै लगेर सीप सिकाउन प्राविधिकद्वारा सहजीकरण गरिने उहाँले बताउनुभयो ।सेवा क्षेत्र भित्र कहिँ पानीको चुहावट भएमा संस्थालाई खबर गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो।

प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका प्राविधिक प्रमुख विष्णु घिमिरेसहितको प्राविधिकको टिमले विद्यार्थीहरुलाई प्लम्बिङका लागि आवश्यक सामग्रीहरुको जानकारी ,धाराको पानीमा हुने चुहावट कसरी रोक्ने र पाईपबाट चुहावट हुँदा गरिने प्राविधिक कामको बारेमा विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान समेत प्रदान गरेका थिए।

नव नेपाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराईले विद्यालयमा हरेक शुक्रबार गरिने सिपमुलक शिक्षा अन्तर्गत प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले विद्यालयमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिम प्रदान गरेकोमा धन्यवाद दिनुभएको थियो। हरेक शुक्रबार विभिन्न सीपहरु सिकाउने अभियान नै सुरु गरिएको उहाँले बताउनुभयो ।

Write your Comment