आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

बुटवल–नारायणगढ सडक : म्याद थप्या थप्यै, काम उस्तै सुस्त

    प्रकाशित २०८० भाद्र ९, शनिबार (८ महिना अघि)


बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ ।एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ठेक्का लिएर २०७५ चैतबाट निर्माण सुरु भई ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो । अहिलेको थप सम्झौतामा आयोजनाको म्याद एक वर्षलाई थपिएको छ ।

आयोजनाका अनुसार आयोजनाका भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्र भएको छ । दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ । हालसम्म दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत काम भएको छ । त्यस्तै, खर्चको हिसावले पूर्वमा २९ प्रतिशत र पश्चिममा २३ प्रतिशत भएको छ ।

गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ।सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड बुटवल–नारायणगढको ११४ किलोमिटर सडक सहरी भेगमा ‘सिक्स लेन’ र जङ्गली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो ।

यात्रुलाई सकस
रुपन्देहीको हरैयाकी सरला ढकाल आइतबार काठमाडौँ जाँदा बुटवलबाट नारायणगढ पुग्न ७ घण्टा लाग्यो । पहिला तीन घण्टा लाग्ने बुटवल–नारायणगढको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण खाल्डा खुल्डीले ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ ।सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्को तर्फबाट सवारीसाधनको सहज आवत–जावतको वातावरण सिर्जना गर्नुपर्ने स्थानीयले माग गरेका छन्।

नवलपुरको गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण आर्थिक गतिविधिमा समेत असर पर्न थालेको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले खराब सडकका कारणले ५ वर्ष पुग्ने गाडी मेन्टिनेन्स खर्च एक वर्षमै सकिने गरेको बताए ।बुटवल–नारायणगढ सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर शशाङ्क मिश्र तथा पूर्वका सडक प्रमुख इन्जिनियर प्रकाश थापाले वर्षा यामका कारण अहिले धेरै काम नभए पनि तोकिएको मितिमा काम सम्पन्न गर्ने गरी आफूहरूले काम गरेको बताए ।

पश्चिम खण्डका एकतर्फी अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । दाउन्ने पश्चिम खण्डमा बनाउनुपर्ने ठुला ९ वटा पुलमध्ये अहिलेसम्म ३ वटा बनिसकेका छन् । अन्य ३ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बाँकी ३ वटाको काम भइरहेको इन्जिनियर मिश्रले बताए । त्यस्तै साना ३८ वटा पुल बनाउनुपर्नेमा अहिलेसम्म ३१ वटा बनिसकेका छन् । २५० वटा कल्भर्ट निर्माण गनुपर्नेमा १५० वटा बनिसकेको छन् । यस्तै पूर्व खण्ड तर्फका पानी कटाउने खालको भौतिक संरचना २१५ बनाउनु पर्नेमा १३६ वटासम्म भएको इन्जिनियर आशिष थापाले बताए ।

यहाँ साना पुल २२ वटा बनाउनु पर्नेमा १९ सम्पन्न भएका छन् । यस्तै ठुला पुल १२ मध्ये ९ वटाको जग हाल्ने र पिलर राख्ने काम भएको उनले बताए । यहाँ ४ वटा पुलमा नयाँ प्रविधिको प्रयोग गरी पिलर जग हालेपछि ढलान गर्ने योजना रहेको खुलाए । उनका अनुसार पूर्वी खण्डमा पनिकालोपत्रे साढे १५ किलोमिटर भएको छ । साभार: रातोपाटी

Write your Comment