आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको राजस्व संकलन गण्डकीका १० जिल्लाको भन्दा बढी

    प्रकाशित २०८० श्रावण १६, मंगलबार (९ महिना अघि)


नारायण शर्मा,पूर्वी नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पूर्वी नवलपरासीले सबैभन्दा धेरै राजश्व संकलन गर्ने गरेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाले गत आर्थिक वर्षमा कुल १८ अर्ब राजश्व संकलन गरेका छन् भने पूर्वी नवलपरासी एक्लैले २६ अर्ब संकलन गरेको छ ।

गत आर्थिक वर्षमा पूर्वी नवलपरासीले २६ अर्ब २९ करोड ८ लाख राजश्व संकलन गरेको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीका प्रमुख ज्ञानहरी पन्थीका अन्सार यहाँ सबैभन्दा धेरै अन्त:शुल्क वापतको राजश्व संकलन हुने गरेको छ ।

यहाँको भेडाबारीमा रहेको गोर्खा ब्रुअरी कम्पनी र दुम्कौलीमा रहेको विनोद चौधरीको सीजी ब्रुअरीले गत आर्थिक वर्षमा कुल २५ अर्ब १६ करोड ९१ लाख राजश्व तिरेका छन् । ती दुवै वियर उत्पादक कारखाना हुन् । अघिल्लो आर्थिक वर्षमा ती २ कम्पनीले २४ अर्ब ११ करोड राजस्व तिरेका थिए । आयकर तर्फ सबैभन्दा धेरै राजश्व बुझाउनेमा इन्फीनिटी लघुवित्त वित्तीय संस्था रहेको छ । भ्याटतर्फ देवचुली नगरपालिकामा रहेको देवचुली डिस्टिलरीले बढी राजश्व बुझाउने गरेको छ ।

आन्तरिक राजश्व कार्यालय दमौलीले आसपासका ४ जिल्लाबाट गत आर्थिक वर्षमा साढे ११ अर्ब राजश्व संकलन गरेको छ । दमौली कार्यालयले तनहुँ, लमजुङ, मनाङ र गोर्खाबाट संकलन हुने राजश्व हेर्दछ । तनहुँमा रहेको सूर्य नेपाल एक्लैले गत आर्थिक वर्षमा ९ अर्ब राजश्व तिरेको छ । लमजुङ र गोर्खाले वार्षिक ५०, ५० करोड राजश्व उठाएको आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख डमरु पराजुली बताउँछन् । मनाङको राजश्व संकलन सबैभन्दा न्यून छ । त्यहाँ पर्यटक आवागमन वापतको राजश्व संकलन हुने गरेको छ ।

राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माका अनुसार त्यहाँको राजश्व कार्यालयले कास्कीबाट गत आर्थिक वर्षमा (असार मसान्तसम्म) ५ अर्ब २० करोड राजश्व संकलन गरेको छ । यो राजश्वमा सबैजसो हिस्सा पर्यटन शुल्कवापतको हो । कास्कीमा अन्य ठूला कारखाना छैनन्, पर्यटन सेवा वापतको राजश्व संकलन भएको कार्यालय प्रमुख शर्माले बताए ।

आन्तरिक राजश्व पर्वतका प्रमुख रमाकान्त पौडेलका अनुसार पर्वत जिल्लाबाट गत आर्थिक वर्षमा २७ करोड ५२ लाख ४३ हजार राजश्व संकलन भएको छ । यसमा धेरै हिस्सा आयकरको छ । आयकर वापतको १६ करोड छ । भ्याट वापतको ९ करोड ५२ लाख राजश्व संकलन भएको हो ।

त्यसैगरी आन्तरिक राजश्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा ९५ करोड ३१ लाख राजश्व संकलन गरेको छ । उक्त कार्यालयले १ अर्ब ५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालय प्रमुख शालिकराम आचार्यका अनुसार गत असार महिनामै २४ करोड ४५ लाख राजश्व संकलन भएको हो । जरिवानाबाट बच्न असार मसान्तमा एकै पटक कर, राजश्व बुझाउने प्रचलनले गर्दा असारमा राजश्व धेरै संकलन भएको हो ।

गण्डकी प्रदेशबाट संकलन हुने राजश्वमध्ये १५ प्रतिशत प्रदेश सरकारमा र १५ प्रतिशत स्थानीय निकायमा जाने व्यवस्था छ । पूर्वी नवलपरासीमा धेरै राजश्व ( अन्त: शुल्क समेत) तिर्नेमा बियर तथा रक्सी कारखाना, चिनियाँ लगानीको होङ्सी सिमेन्ट कारखाना र सिजी सिमेन्ट उद्योग छन् ।

पूर्वी नवलपरासीमा खुलेका ठूला लगानीका होटलका कारण पर्यटकीय सेवाको राजश्व बढेको छ । पूर्वी नवलपरासीको गत आर्थिक वर्षमा ३१ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा २६ अर्ब संकलन भएको हो । विकास निर्माणका काम थोरै हुनु, उत्पादन घट्नु, आर्थिक संकटका कारण राजश्व घटेको आन्तरिक राजश्व कार्यालय कावासोतीको भनाइ छ ।

Write your Comment