आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री आज इटाली जाँदै

    प्रकाशित २०८० श्रावण ६, शनिबार (१ साल अघि)


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) इटाली प्रस्थान गर्दै छन्। इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज त्यसतर्फ जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डसँग उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी इटाली जाँदै छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्नेछन्। यस क्रममा उनले खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्नेछन्।

कार्यक्रमका क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

त्यस्तै प्रचण्डले गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर सम्बोधन गर कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किने छन्।

Write your Comment