आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

देवचुली नगरसभा : “वनको उत्पादनमा जाेड, पर्यटन तर्फ “हाईकिङ पाथ” निर्माण

    प्रकाशित २०८० अषाढ ८, शुक्रबार (१ साल अघि)


देवचुली । नवलपुरकाे देवचुली नगरपालिकाले वन तथा पर्यटनलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम अघि बढाएको छ। वन र पर्यटनकाे माध्यमबाट राेजगारलाई जाेड्ने गरि आफ्नो नीति तथा कार्यक्रम अघि बढाउने लक्ष्य लिइएको नगर प्रमुख हरिप्रसाद न्याैपानेले बताउनुभयो ।

नगरपालिकाकाे दाेस्राे नगरसभाकाे तेस्रो अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख न्याैपानेले “वनको उत्पादनमा अभिवृद्धि, नागरिकको जीवनयापनमा समृद्धि” कार्यक्रम कार्यान्वयन गरि वन उत्पादनलाई उद्यमशिलतासँग जोड्न नगरभित्रका सामुदायिक वनसँगको सहकार्यमा बनको खाली क्षेत्रमा अमरिसो, डालेघाँस, बेसार खेती, विभिन्न प्रजातीका फलफूल तथा स्थानीय जडिबुटीका बोटबिरुवा रोप्ने नीति लिइने उल्लेख गर्नुभयो ।

यसै गरि पर्यटन क्षेत्रलाई समेत नगरले प्राथमिकतामा राखेको छ। देवचुलीको समग्र पर्यटनमा बढोत्तरी हुने गरि देवचुली – २ स्थित शास्वतधाममा आउने पर्यटकलाई पदमार्गबाट देवचुली चुचुरोसम्म लैजाने र किर्तिपुर बन्दिपुर-वाहकोल हुँदै पिप्रहर र सिसवार बोटे माझी होमस्टेसँग जोड्ने “हाईकिड पाथ” तथा नारायणी किनारमा “साईक्लिङ पाथ समेत निर्माण हुने गरि “देवचुली पर्यटन गुरुयोजना” सम्बन्धी कार्य अगाडी बढाइने । साथै देवचुली पर्यटन महोत्सव आयोजना गर्न आवश्यक सहकार्य गरिने नगर प्रमुख न्याैपानेले बताउनुभयो ।

पिप्रहर तथा सिसवार बोटे माझी होमस्टेको प्रचार प्रसार हुने कार्यक्रमहरु सञ्चालन गर्ने र पर्यटकीय पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्न तथा होमस्टेमा संलग्न सदस्यहरुको आयआर्जन वृद्धि हुने किसिमका कार्यक्रम सञ्चालनको लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँग पहल गरिने,देवचुली डाँडाको प्रवेश विन्दुका रुपमा रहेको देवचुली ६ स्थित किर्तिपुरलाई पर्यटन उन्मूख गाउँका रुपमा पहिचान गरि किर्तिपुर मगर सामुदायिक होमस्टे सञ्चालनका लागि पहिलो चरणको अभिमुखिकरण सम्पन्न भई समिति गठन भैसकेकोमा यसै आर्थिक वर्ष देखि होमस्टे सञ्चालनका लागि पहल गरिने, खेलकुद पर्यटनकाे सम्भाव्यता अध्ययन गरि देवचुली १ र १७ को नारायणी किनारमा रहेको जग्गामा राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिने नगरकाे नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

Write your Comment