आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

कावासोती १० मा बालविवाह न्यूनीकरणका लागि सचेतना प्रवाह गर्दै किशोरीहरु

    प्रकाशित २०८० जेष्ठ २८, आईतबार (११ महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर १० मा बालविवाह रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरी र अभिभावक भुमिका बारे छ्लफल गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल र कावासोती नगरपालिका वडा नम्बर १० को सह आयोजनामा शनिबार सो कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहजकर्ता राधादेवी बोटेले किशोरी सशक्तीकरण कार्यक्रम, किशोरीहरुले लिएका तालिमहरु र टोल, समुदाय, विद्यालय, वडामा गर्दै आएका गतिविधिहरु, बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा अभिभावक र किशोरकिशोरीको भुमिका र समुदाय स्तरमा छलफल कार्यक्रम गर्नुको उदेश्यबारे जानकारी दिनुभएको थियो ।

किशोरी आशा वि.क. ले समुदायमा बाल विवाह न्यूनीकरणमा अभिभावक तथा महिला समुहले आफ्नो घरसँगै समुदायमा पनि सचेत गराउनका लागि समुह मार्फत कार्यक्रमहरु संचालन गर्न, किशोर किशोरीले सिकेका कुराहरु अरुलाई सेयर गर्न र सिकाउनको लागि अनुरोध गर्नुभयो।त्यस्तै गरि कार्यक्रममा थारु जनजागरण महिला समुहका अध्यक्ष धनकुमारी महतोले आफ्नो विगतका अनुभवहरुको बारेमा जानकारी दिँदै बालबालिकाहरु २० वर्ष पछि मात्रै विवाह गरेमा परिवार र समुदायमा राम्रो प्रभाव पर्ने भएकाले सिक्ने पढ्ने उमेरमा ध्यान दिनको लागि अनुरोध गर्नुभएको थियो । उहाँले समुदायमा महिला, अभिभावकहरुलाई अझै सक्रिय बनाउन समय समयमा सचेतनामुलक कार्यक्रम तथा छलफलहरु संचालन गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

बाल विवाह भनेको के हो ? बाल विवाह गर्दा शारीरिक, मानसिक र सामाजिक रुपमा कस्तो प्रभाव र असरहरु पर्छ ? बाल विवाह रोकथाम र न्यूनीकरणमा अभिभावक र किशोरकिशोरीले कसरी भुमिका निर्वाह गर्न सकिन्छ ?, बाल विवाह गरेमा नेपालको कानुन अनुसार केकस्ता दण्ड सजाय हुनसक्छ ? बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरुमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? भन्ने विषयहरुमा कार्यक्रममा छलफल भएको थियो । सहभागी बालबालिका तथा अभिभावकहरुले बाल विवाह विरुद्ध विभिन्न सचेतनामुलक नाराहरु प्रदर्शन पनि गर्नु भएको थियो ।कार्यक्रममा कावासोती नगरपालिकाका किशोरीहरु एलिसा पन्थी, निर्जला बोटे, मिना महतो र स्वस्तिका ढकालले सहजीकरण गर्नु भएको थियो ।

थारु जनजागरण महिला समुहका अध्यक्ष धन कुमारी महतोको सभाध्यक्षतामा भएको कार्यक्रममा समुदायका महिला र आमा समुहका प्रतिनिधिहरु, अभिभावक, किशोरकिशोरी, साथी शिक्षकहरु, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ४० जनाको उपस्थिति रहेको थियो ।

Write your Comment