आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समाधान गर्न देवचुलीमा नापी सुरु

    प्रकाशित २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)


देवचुली । नवलपुरकाे देवचुली नगरपालिकामा जग्गाको नापी सुरु गरिएको छ। भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समाधानका लागि पालिका भित्र नापी सुरु गरिएको हाे । देवचुली नगरपालिका वडा नम्बर ४ बाट आज नापी सुरु गरिएको हाे ।

राष्ट्रिय भूमि आयोगका नवलपुरका अध्यक्ष तारापती खरेल र देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले संयुक्त रुपमा जग्गा नापीकाे उद्वघाटन गर्नुभएको हाे।

जग्गा नापीकाे उद्वघाटन कार्यक्रममा बाेल्दै आयोग जिल्ला अध्यक्ष खरेलले एक चरणकाे काम तथ्यांक संकलन ,प्रविष्टिकरण सकिएको र अब प्रमाणीकरणको लागि जग्गा नाप जाँचकाे काम सुरु भएको बताउनुभयो। नापजाँच गर्ने क्रममा केहि समस्या परे सहजिकरण समितिबाट हल गर्ने र यहाँ हुन नसके पालिका ,जिल्लाबाट समस्या समाधान गरि पुर्जा वितरणकाे काम सम्पन्न गरि भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । विधि,प्रक्रिया मिलाउन समय लाग्ने भएकाले धैर्य गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको थियो।

नगर प्रमुख न्यौपानेले भूमिकाे समस्या समाधान गर्न पालिका सधैं जनताको पक्षमा रहने बताउनुभयो । आफुहरुको पहिलो एजेन्डा नै सुकुम्बासी समस्या समाधान गर्ने रहेकाले कार्यपालिकाको टिम एकरुपता भइ काम गरेको उहाँले बताउनुभयो ।पालिकामा जग्गाका विविध खालका जग्गा समस्या रहेको र त्यसकाे समाधानका लागि आयाेगकाे मापदण्डअनुसार पालिका लाग्ने बताउनुभयो ।भूमिकाे समस्या समाधान गर्दै भूमिहीनलाई पुर्जाकाे मालिक बनाउने काममा सबैकाे सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।जनतालाई जग्गाको मालिक बनाउने कामलाई अब सबैकाे सहजिकरण रहने विश्वास व्यक्त गर्दै पालिका दृढ रुपमा लाग्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

सुकुम्बासी ,भूमिहीन ,अव्यवस्थित बसाेबासीकाे समस्या समाधान एक पटकका लागि गर्ने याेजना छ, यसैलाई आधारमानी सबै वडामा जतिसक्दो चाँडै नापीकाे काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्ण रुपमा सहजिकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

देवचुली ४ मा नगरकै बढी सुकुम्बासी समस्या रहेकाले यसै वडाबाट जग्गा नाप सुरु गरिएको देवचुली नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । शान्ती गैराबाट सुरु हुने जग्गा नापी देवचुलीका सबै वडामा गरिने उहाँले बताउनुभयो । जग्गा नापका लागि जनशक्ति थप गरि आवश्यक सामग्री खरिदका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उहाँको भनाई छ।

नापी कार्यालयबाट खटाईएका टोली प्रमुखको सुपरिवेक्षणमा नगरका तीन जना जनशक्तिहरुको संयुक्त टिमले जग्गा नापीको काम गर्ने देवचुली नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो । सुकुम्बासीहरुलाई पुर्जा उपलब्ध गराउने विषयमा आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको समेत उहाँले बताउनुभयो ।

आफुहरु निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयनमा गएको देवचुली नगरपालिका ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभयो । त्यसै गरि भूमि सहजीकरण समिति देवचुलीका सदस्य खिमानन्द भुसालले आवश्यक जनशक्ति तथा उपकरणका लागि पालिकामा जानकारी गराइएको र पालिका पनि सकारात्मक रहेको बताउनुभयो । जग्गा नाप जाँच गर्दा पछिसम्म वडामा फरक नपर्ने गरि नक्सा कायम गर्न नापी टोलीलाई उहाँले आग्रह गर्नुभएको थियो।

देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा (राम)ले कयौं पुस्ता भूमिहिनकै रुपमा रहेकोले अब ती समस्या समाधान गर्न लागिएको बताउनुभयो ।अब भूमिहिनहरु जग्गाको मालिक बन्ने दिन आएको बताउनुभयो । नापीकाे काममा देखिने हरेक समस्या समाधान गर्दै नापीकाे काम सक्न सबैकाे सहयाेगकाे आवश्यकता रहेको उहाँले बताउनुभयो । वडाले सबै सहजिकरण गर्ने तर पुर्जा दिनेकाममा कुनै बिलम्ब हुन नहुने र आयाेगले साेहि अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय धनबहादुर लुंगेलीले वर्षौं अघिबाट सुकुम्बासी हुन बाध्य आफुहरुलाई जग्गा नाप चाँजले खुसी बनाएको बताउनुभयो । अब आफ्नो नाममा पुर्जा आउनेमा ढुक्क भएकाले जग्गा नापका लागि सबै जनाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

देवचुली नगरपालिका भित्र ४ हजार ५४९ जनाले आवेदन दिएकाछन्। नगरपालिकामा ४६२ भुमिहिन दलित ,१ हजार १४५ भूमिहीन सुकुम्बासी र २ हजार ९४२ जनाले अव्यवस्थित बसाेबासीले आवेदन दिएका छन्। जसमध्ये सबै कम्युटर इन्ट्रीकाे काम सकिएको छ।


आज देखि सुरु गरिएको नापी काम सबै वडाकाे जग्गा नापी सक्ने गरि निरन्तर चल्ने छ। त्यसपछि पुर्जा वितरणकाे प्रक्रिया सुरु हुने जनाइएको छ।

Write your Comment