आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बालबालिकाको शिक्षामा पहुँचका लागि देवचुली १६ का २० परिवारलाई बाख्रा हस्तान्तरण

    प्रकाशित २०८० बैशाख २८, बिहिबार (१ साल अघि)


देवचुली। बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ।

जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा बुधबार दुवै गाउँका १०/१० परिवारलाई प्रति परिवार २ पाठीका दरले ४० वटा बाख्रा र १ वटा बोका वितरण गरेको हो। बालबालिकाको शिक्षालाई निरन्तरता दिनका लागि परिवारलाई आय आर्जनमा सहयोग होस् भनी २० परिवारलाई बाख्रा वितरण गरिएको संस्थाका महासचिव दीपक शर्माले बताउनुभयो । लोकल जातका बाख्रालाई विस्थापन गर्नका लागि उन्नत बोका समेत वितरण गरिएको शर्माले बताउनुभयो । विद्यालयका विद्यार्थीहरुका लागि छात्रवृत्ति तथा सरसफाइ कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो।

देवचुली नगरपालिका वडा नम्बर १६ का अध्यक्ष केशवराज गौतमको अध्यक्षता भएको बाख्रा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाको नै दुर्गम स्थानमा रहेको बाह्रकोल बेलस्वारालाई नगरपालिकाले प्राथमिकतामा राखी कामहरु गर्न सुरु गरेको बताउनुभयो । संघीय तथा प्रदेश सरकार ,विभिन्न गैरसरकारी संस्थाहरुलाई नगरको पहाडी भागमा सहयोग गर्न अनुरोध गरिएको बताउँदै न्यौपानेले जागृति बाल तथा युवा सरोकार नेपालले बाह्रकोल र बेलस्वारामा बाख्रा वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। नगरपालिकाको तर्फबाट बाह्रकोलका लागि १ वटा उन्नत जातको बोका प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख न्यौपानेले नि:शुल्क घाँस,औषधिका लागि नगरपालिकाले सहयोग गर्ने भनाई राख्नुभयो ।

नगरप्रमुख न्यौपानेले बाख्रा हस्तान्तरण गर्दै उत्कृष्ट तरिकाले पालन गर्नका लागि अनुरोध गर्नुभएको थियो । संस्थाले यस अघि देवचुली ६ कीर्तिपुरका १०० परिवारलाई बाख्रा वितरण गरेको र अहिले देवचुली १६ का दुई गाउँमा परियोजना सुरु गरेकोमा संस्थालाई आफ्नो वडामा स्वागत गर्दै आवश्यक सहयोगका लागि वडा कार्यालय तयार रहेको वडा अध्यक्ष केशवराज गौतमले बताउनुभयो । पहाडी भेगमा भएकाले विकासबाट पछि परेको यी गाउँहरुमा संस्थाबाट निरन्तर सहयोगका लागि अध्यक्ष गौतमले आग्रह गर्नुभयो ।

बाख्रा वितरण कार्यक्रममा देवचुली १६ का वडा सदस्य रामबहादुर सौमै,वडाचुली टोल सुधार संस्थाका अध्यक्ष सिमसोन सोमै लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।

Write your Comment