आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली १२ मा बालक्लबको व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८० बैशाख २३, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा बालक्लबका पदाधिकारीहरुका लागि बालक्लबको व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा न १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा दिव्य ज्योति आधारभूत विद्यालयको सभाहलमा दुई दिनसम्म बालबालिकाहरुका लागि तालिम गरिएको हो।

देवचुली नगरपालिका वडा न १२ ले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडाध्यक्ष लोकप्रसाद भुर्तेलले बताउनुभयो । उहाँका अनुसार दुई दिनसम्म संचालन भएको तालिममा बालबालिका माथि हिंसा कहाँ कहाँ हुन्छ,हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका,बालमैत्री स्थानीय शासन,सुरक्षित अनलाइनको प्रयोग, माईन्युट लेख्न, नेतृत्व विकासलगायतका विषयमा सहजीकरण गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षता भएको तालिमको समापन सत्रमा देवचुली नगरपालिका कार्यपालिका सदस्य फुलमाया बिक,वडा सदस्यद्वय धर्माकुमारी न्यौपाने र दिवाकर तिमिल्सिना लगायतको आतिथ्यता रहेको थियो। समापन कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य फुलमाया बिकले बालबालिकाको क्षमता अभिवृद्धिका गर्न लक्षित वर्गका लागि विनियोजन गरिएको रकमबाट कार्यक्रम गरिएको बताउनुभयो । देवचुली नगरपालिकाका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेलले आगामी आर्थिक वर्षका बजेट विनियोजनको प्रक्रिया सुरु भएको बताउँदै वडाले बालबालिकाका लागि प्राथमिकतामा राखी बजेट छुट्याउने बताउनुभयो । बालबालिकाका लागि वडाले लगानी गर्न कुनै कसर बाँकी नराख्ने र सो का लागि बालबालिकाहरुको सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।

तालिममा सहभागीहरुल बालबालिकाहरुले आफुहरुका लागि वडा कार्यालयले तालिम राखेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत बालबालिकालाई प्राथमिकता राख्न लागि वडा कार्यालयलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,देवचुली मिडिया प्रालिका राजु चापागाई,किशोरी अभियन्ता रेजिना घर्ती मगर लगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिका वडा न १२ का विभिन्न टोलका बालबालिकाहरुको सहभागिता रहेको थियो।

Write your Comment