आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

    प्रकाशित २०८० बैशाख १२, मंगलबार (११ महिना अघि)

तनहुँ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४,३८८ बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई ३४,४८० मत प्राप्त भएको छ । वाग्लेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०,०९२ मत प्राप्त गरे । त्यस्तै एमालेका सर्वेन्द्र खनाललाई ८,५५५ मत प्राप्त भएको छ ।

वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका छन् । वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।

पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।

यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।

कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट गत चैत १६ मा मात्र अलग भएको घोषणा गरेका थिए । उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका थिए । रास्वपा सभापति रवि लामिछानेले पनि चुनावी प्रचारप्रसारमा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । वाग्ले आफैं पनि सांसदमा विजयी भए राजनीति संग्ल्याउने र अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै आएका थिए ।

Write your Comment